हल्दीबारी, झापा । झापाको हल्दीबारी गाउँपालिकाले आफ्ना कर्मचारी सज्जन चौधरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंगलबार एक दिन पालिकाभर शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अन्तर्गत पशु सेवा शाखामा कार्यरत चौधरीको उपचारका क्रममा ५७ वर्षको उमेरमा सोमबार निधन भएको हो। भद्रपुर नगरपालिका वडा नम्बर ६ निवासी चौधरी केही समयदेखि स्वास्थ्य समस्याका कारण अस्वस्थ हुनुहुन्थ्यो।
गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेका अनुसार, यस दुःखद घडीमा मंगलबार एक दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू र मातहतका शाखाहरूमा अत्यावश्यक सेवा बाहेकका सबै कार्यहरू बन्द रहनेछन्।

लामो समयदेखि पशु सेवाको क्षेत्रमा कार्यरत चौधरीको निधनले पालिकाको प्रशासनिक क्षेत्रमा अपूरणीय क्षति पुगेको महसुस गरिएको छ। पालिकाले आफ्ना एक लगनशील र इमानदार कर्मचारी गुमाउनु परेको भन्दै कार्यपालिका परिवारले शोक मनाउने निर्णय गरेको हो।