समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारीमा १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु

झापा । हल्दीबारी गाउँपालिका वडा नम्बर १ स्थित जनजागृति माध्यमिक विद्यालयमा आजदेखि १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन १६औँ राष्ट्रपति रनिङशील प्रतियोगिता आयोजक समितिका संयोजक सन्तकुमार थापाको अध्यक्षता तथा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

विज्ञापन (Advertisement)Advertisement

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लिङदेन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, हल्दीबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जनजागृति माविका शिक्षक झमक तिम्सिनाले गर्नुभएको थियो।

प्रतियोगितामा हल्दीबारी गाउँपालिका भित्रका १३ वटा विद्यालय सहभागी छन्। सहभागी विद्यालयहरूमा जनजागृति मावि, हल्दीबारी मावि, लक्ष्मी मावि, महेन्द्र मावि, सरस्वती मावि, चिल्ड्रेन गार्डेन एकेडेमी, गोलधाप सनसाइन अंग्रेजी मावि, संस्कारा शिक्षा सदन, केनरी एकेडेमी, सिग्मा अंग्रेजी मावि, चिल्ड्रेन गार्डेन अंग्रेजी मावि तथा जसोधा मावि र पंचायत मावी रहेका छन्।

आयोजक समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापाका अनुसार प्रतियोगितामा करिब १२०० जना छात्र–छात्राले सहभागिता जनाउनेछन्। प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ५४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

खेलाडीहरूले २२ वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। आयोजक समिति सचिव तथा जनजागृति माविका प्रधानाध्यापक रामप्रसाद दाहालका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० मिटर रिले, ४×४०० मिटर रिले, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, सटपुट तथा करातेका खेलहरू समावेश गरिएका छन्।

पुस २८, २९ र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सम्पूर्ण प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयलाई विशेष ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)