सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लागेर एक जना चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही टिपरमा लामो समयदेखि कार्यरत चालक सन्तोष साह रहेका छन्। टिपर सफा गरिसकेपछि पानी फाल्ने उद्देश्यले ढाला उठाउने क्रममा गाडीको पछाडिको भाग माथि रहेको हाइटेन्सन विद्युतीय तारमा छोइएपछि दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार हाइटेन्सन तारमा ढाला ठोक्किएलगत्तै टिपरमा विद्युत् प्रवाह भई आगो समेत लागेको थियो। टिपरमा करेन्ट लागेको थाहा पाएपछि चालक साहले ज्यान जोगाउन गाडीबाट हाम फालेका थिए। तर, सोही क्रममा उनी गम्भीर घाइते हुन पुगेका थिए।
घाइते साहलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक साह सोही टिपरमा लामो समयदेखि चालकको रूपमा काम गर्दै आएका थिए। घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय गोलबजारले थप कानुनी प्रक्रिया अघि बढाउँदै आवश्यक अनुसन्धान गरिरहेको छ।


















