बाजुरा, २३ मार्च । बाजुराबाट थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पुऱ्याइएकी २१ वर्षीया सुत्केरी सुरता रोकाया र उनको एक हप्ताको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।
बाजुराको बडीमालिका नगरपालिका-१ निवासी रोकायालाई स्वास्थ्यमा जटिलता देखिएपछि चैत ४ गते कर्णाली प्रदेश अस्पताल, सुर्खेत रिफर गरिएको थियो। मुटुको गम्भीर समस्याबाट पीडित रोकायालाई जिल्ला अस्पताल बाजुरामा शिशु जन्माएपछि थप समस्या देखिएको थियो।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार शनिबार सुर्खेतमा उपचारकै क्रममा आमा र शिशु दुवैको ज्यान गएको हो।
चिकित्सकहरूका अनुसार रोकायालाई पहिले नै मुटुको समस्याका कारण गर्भधारण नगर्न सल्लाह दिइएको थियो। तर, दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतनाको कमी र विशेषज्ञ सेवाको अभावका कारण यस्ता जोखिमपूर्ण अवस्थाहरू निम्तिने गरेका छन्। हेलिकप्टरमार्फत उद्धार गरी बचाउने प्रयास गरिए पनि अन्ततः सो प्रयास असफल भएको छ।
यो घटनाले नेपालका दुर्गम जिल्लाहरूमा सुरक्षित मातृत्व र भरपर्दो स्वास्थ्य सेवाको पहुँच अझै पनि ठूलो चुनौती रहेको पुनः पुष्टि गरेको छ।


















