नेत्र बिक्रम बिमली । अजय सत्याल, एक समर्पित रक्तदाता र मानवतावादी अभियन्ता, जसले विश्वभर रक्तदानको महत्त्व र आवश्यकता बारे जनचेतना फैलाउँदै आजसम्म २१८ पटक रक्तदान गरी विश्व रगतदान इतिहासमा आफ्नो विशिष्ट स्थान बनाएका छन्।
२०१४ मा स्थापित International Nepalese Blood Donors Association (INBDA) का संस्थापक सदस्य एवं पूर्व अध्यक्ष सत्याल अमेरिकाको फ्लोरिडा राज्यको डेल्रे बीचमा बसोबास गर्दै आएका छन्। उनी वायुप्रदूषण विशेषज्ञको रूपमा सरकारी सेवामा पनि लामो समय काम गरिसकेका छन्।
विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरी रक्तदानको महत्त्व बुझाउने कार्यमा सक्रिय सत्यालले Blood Donors of America लगायतका संस्थासँग सहकार्य गर्दै रक्तदान अभियानहरू सञ्चालन गरिरहेका छन्।
सत्यालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “म प्रतिबद्ध रगतदाता हुँ र मेरो २१८औं रगतदान समर्पण गर्दछु हाम्रो समुदायका ती असाधारण व्यक्तिहरूलाई जो विश्वभर जीवन बचाउन रगत दिन्छन्।”
उनको समर्पणले विश्वभरका रक्तदाताहरूलाई प्रेरणा दिएको छ र नेपाली समुदायमा रक्तदानको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।
















