समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

३ बजे साइरन बज्यो, बिहानसम्म गाउँ डुब्यो : झापामा दशककै भीषण बाढीको त्रास

झापा, २२ असोज । बिहान ठीक ३ बजे साइरन बज्यो। कुवाडीकी कल्पना राजवंशी निद्रामा थिइन्। साइरन सुनेपछि बाहिर निस्किँदा खोलाको पानी अझ टाढै थियो। तर, दुई घण्टापछि सानोमाई खोला गाउँमै पस्यो।“साढे पाँचतिर खोलाको गर्जन सुनियो,” उनी सम्झिन्छिन्, “गाई–वस्तु निकाल्दै निस्कँदा घर डुबिसकेको थियो।”

कनकाई माई र सानोमाई खोलामा आएको बाढीले झापा गाउँपालिका–२ का बस्तीहरू तहसनहस पारे। स्थानीय विजय राजवंशी भन्छन्,“लेदो र पानी घरभित्र छिर्‍यो, २४ घण्टा भोकभोकै बस्नुपर्‍यो, यस्तो विनाश कहिल्यै देखिएन।”

विज्ञापन (Advertisement)Advertisement

भोकभोकै रात र छतमा बास :

बाढी गाउँमा छिरेपछि धेरै परिवारले रातभर घरको छतमा वा झोलुंगे पुलमा बास बस्नुपर्‍यो।मुस्लिम बस्तीकी भानु खातुन भन्छिन्, “१० मिनेटमै घरभित्र पानी पस्यो, के निकाल्नु के गर्ने, छतमा गएर बस्यौं।”केही परिवार त नानीहरू बोकेर पुलमै बसे। स्थानीय मया परिवार भन्छिन्, “झोलुंगे पुलमै सात जना रातभर बस्यौं। घरभित्र सबै बगायो।”

धनजनको ठूलो क्षति :

झापा गाउँपालिकाका सुगान बथान, कुवाडी, सालमारा, मिलनबस्ती लगायतका बस्तीहरू बढी प्रभावित भएका छन्।
नेपाल रेडक्रस सोसाइटीका सभापति लोकराज ढकालका अनुसार १८ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। “अब राहत वितरण एकद्वार प्रणालीबाट हुन्छ,” ढकालले बताए।सरकारी अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार दुई हजार परिवारलाई राहत प्याकेज आवश्यक छ।

इतिहासका तीन बाढी :

६८ वर्षीय पनिलाल कोचले २०२५, २०७४ र अहिले २०८२ सालमा बाढी आएको सम्झन्छन्।“तर योचोटि सबैभन्दा ठूलाे विनाश भयो,” उनले भने, “हुलाकी राजमार्ग र साना कल्भर्टले पानी रोकियो, गाउँ नै डुब्यो।” ५२ वर्षीय धनबहादुर अधिकारी भन्छन्, “राति सुतेको बेला आएको भए धेरै मान्छे मर्थे।”

आशा र पुनर्निर्माण :

अब गाउँमा लेदो सफा गर्ने र घर पुनःनिर्माण गर्ने काम सुरु भएको छ। तर स्थानीयहरूका अनुहारमा अझै डर देखिन्छ।
कल्पना राजवंशी भन्छिन्, “धान, गाई, घर सबै बगायो – तर जीवन बाँचेका छौं, यही ठूलो कुरा हो।”

स्थलगत रिपोर्ट : नेत्रविक्रम / पार्थ मण्डल

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)