समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

ईरानमा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ

काठमाडौँ: ईरानले नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता नरगिस मोहम्मदीलाई पक्राउ गरेको छ। उनका समर्थकहरूले यसबारे जानकारी दिएका हुन्। नरगिस मोहम्मदीको नाममा स्थापना गरिएको एक संस्थाले शुक्रबार जनाएको अनुसार उनी राजधानी तेहरानबाट करिब ६८० किलोमिटर उत्तर–पूर्वमा रहेको मशहद शहरमा एक मानवअधिकार वकिलको शोकसभामा सहभागी हुन गएका बेला पक्राउ परेकी हुन्। ती वकिलको हालै रहस्यमय परिस्थितिमा मृत्यु भएको थियो।

मोहम्मदीलाई पुनः जेल पठाइने वा नपठाइने भन्ने विषयमा हालसम्म स्पष्टता आएको छैन। एक स्थानीय अधिकारीले पक्राउ परेको पुष्टि गरे पनि नरगिस मोहम्मदीको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेका छैनन्। उनलाई तत्काल जेल फर्काइने हो वा होइन भन्ने विषय अन्योलमा छ। उल्लेखनीय छ, मोहम्मदीलाई सन् २०२४ डिसेम्बरमा स्वास्थ्य कारण देखाउँदै अस्थायी रूपमा जेलबाट रिहा गरिएको थियो।

विज्ञापन (Advertisement)Advertisement

ईरान हाल अन्तर्राष्ट्रिय प्रतिबन्ध, कमजोर अर्थतन्त्र तथा इजराइलसँग पुनः युद्धको सम्भावनाका कारण गम्भीर संकटमा रहेको बेला नरगिस मोहम्मदीको पक्राउ भएको हो। यस्तो परिस्थितिमा ईरानी सरकारले बुद्धिजीवी, मानवअधिकार अभियन्ता तथा असन्तुष्ट आवाजहरूविरुद्ध कडा दमन गरिरहेको बताइएको छ।

यसैबीच, नर्वेस्थित नोबेल समितिले नरगिस मोहम्मदीको पक्राउप्रति “अत्यन्त गहिरो चिन्ता” व्यक्त गरेको छ। समितिले जारी गरेको विज्ञप्तिमा ईरानी अधिकारीहरूलाई मोहम्मदीलाई कहाँ राखिएको छ भन्ने जानकारी सार्वजनिक गर्न आग्रह गरिएको छ। साथै, उनको सुरक्षा, सम्मान र मानवअधिकार सुनिश्चित गर्दै बिना शर्त तत्काल रिहा गर्न अपिल गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)