संयुक्त राष्ट्रसंघ महासभामा शुक्रबार सम्बोधन गर्दै इस्रायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्धको युद्धलाई अन्तिम चरणसम्म पुर्याउने प्रतिज्ञा गरेका छन्। उनले “काम अन्त्य गर्ने” भन्दै गाजामा आक्रमणलाई अझ तीव्र बनाउने चेतावनी दिएका हुन्।
त्यसै दिन, इस्रायलले गाजा सिटी र वरपरका क्षेत्रमा गरिएको हवाई आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको छ। अल–जजिराका अनुसार, मृतकमध्ये ३० जना गाजा सिटीमै मारिएका थिए। अल–वेहदा सडक, शति शरणार्थी शिविर, नसर बस्ती र पश्चिमी रिमाल आवासीय क्षेत्रमा आक्रमण गरिएको पुष्टि भएको छ।
रिमाल क्षेत्रमा आक्रमण बिना चेतावनी भएको प्रत्यक्षदर्शीले बताएका छन्। स्थानीय पत्रकार इब्राहिम अल–खलिलीका अनुसार सर्वसाधारण आफन्त र छिमेकीहरूलाई भग्नावशेषबाट निकाल्ने प्रयासमा थिए भने चिकित्सक टोली मृत र घाइतेको उद्धारमा व्यस्त देखिएका थिए।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजारिकले गत २४ घण्टामा मात्र करिब हरेक ८–९ मिनेटमा हवाई आक्रमण भएको बताएका छन्। यस आक्रमणका “विनाशकारी परिणाम” सर्वसाधारणले भोगिरहेको उनको भनाइ छ।
यसबाहेक, गाजामा राहत सामग्री लिन प्रयास गर्ने क्रममा शुक्रबार १३ जना नागरिकको पनि ज्यान गएको पुष्टि भएको छ। यी सहायता वितरण केन्द्रहरूलाई इस्रायल र अमेरिका समर्थित विवादास्पद जीएचएफ (GHF) द्वारा सञ्चालित गरिएको बताइएको छ।
गाजाको अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ। निरन्तर आक्रमणले अस्पताल, विद्यालय र आवासीय क्षेत्र प्रभावित भएका छन् भने मानवीय संकट भयावह बन्दै गएको अन्तर्राष्ट्रिय संस्थाहरूले चेतावनी दिएका छन्।

















