हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

जलवायु परिवर्तनविरुद्ध झापाको गौरादहमा युवाहरूको सचेतना अभियान: सडक नाटक र र्‍यालीमार्फत ‘क्लाइमेट जस्टिस’को सन्देश

गौरादह (झापा) ।

Advertisement

जलवायु परिवर्तनका बढ्दो असरबारे समुदायलाई सचेत गराउँदै युवा वर्गलाई वातावरण संरक्षणका अभियानमा सक्रिय बनाउने उद्देश्यले झापाको गौरादहमा ‘क्लाइमेट जस्टिस अवेयरनेसः फ्रम स्ट्रिट टु एक्सन’ (सडकबाट कार्यमा) अभियान भव्य रूपमा सम्पन्न भएको छ। दिगो विकास इन्स्टिच्युट र सीजेएआई (CJAI) एलुम्नाई–२०२६ को आयोजना तथा नेप्से (NYCA), लियो क्लब अफ गौरादह, आईएएएस एलसी, एनटीएससी, वाईसीएसए र टीएसएएन जस्ता क्रियाशील संस्थाहरूको सह-आयोजनामा बुधबार गौरादह बजार क्षेत्रमा यो विशेष सचेतनामूलक कार्यक्रम गरिएको हो।

Advertisement

​अभियानअन्तर्गत युवाहरूले फ्ल्यास मोब, सडक नाटक तथा सचेतनामूलक र्‍यालीमार्फत जलवायु न्याय, वातावरण संरक्षण र दिगो विकाससम्बन्धी महत्त्वपूर्ण सन्देशहरू प्रवाह गरेका थिए। गौरादह चोकमा प्रस्तुत गरिएको सडक नाटकमार्फत अनियन्त्रित प्लास्टिक प्रयोग, फोहोर व्यवस्थापनको समस्या, वन विनाश तथा जलवायु परिवर्तनका कारण मानव जीवन, कृषि प्रणाली र जैविक विविधतामा परिरहेको नकारात्मक प्रभावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। नाटक हेर्न बजार क्षेत्रमा स्थानीय सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो।

​कार्यक्रममा सहभागी युवा अभियन्ताहरूले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भए पनि यसको प्रत्यक्ष असर स्थानीयस्तरमा गरिब तथा विपन्न समुदायले भोगिरहेको उल्लेख गरे। उनीहरूले यस संकटको दीर्घकालीन समाधानका लागि स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज र युवा पुस्ताबीच बलियो समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए। सचेतना र्‍यालीका सहभागीहरूले वातावरणमैत्री जीवनशैली अपनाउन, प्लास्टिकजन्य फोहोरको प्रयोग न्यूनीकरण गर्न, वृक्षारोपणलाई व्यापक बनाउन तथा प्राकृतिक स्रोत–साधनको विवेकपूर्ण संरक्षणमा समाजका हरेक वर्ग जिम्मेवार बन्नुपर्ने सन्देश दिएका थिए।

​आयोजकका अनुसार ‘सडकबाट कार्यमा’ भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानको मुख्य उद्देश्य जलवायु न्यायको अवधारणालाई समुदायस्तरसम्म पुर्‍याउँदै युवाहरूलाई वातावरणीय नेतृत्वका लागि प्रेरित गर्नु हो। केवल वहस र सिद्धान्तमा मात्र सीमित नभई व्यावहारिक रूपमै सामूहिक पहलकदमी लिएर मात्र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सकिने सन्देश यो कार्यक्रमले दिएको छ। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)