झापा । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोरामा प्याक गरिएको अवस्थामा फेला परेकी २१ वर्षीया युवतीको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ मा डेरा गरी बस्ने भारत, बिहारका ३४ वर्षीय राकेश कुमार पण्डित रहेका छन् । पेशाले टाइल्स मिस्त्री रहेका पण्डितलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले उनको डेराबाटै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख बसुन्धरा खड्काले घटनाबारे विस्तृत जानकारी दिनुभएको हो ।
गत जेठ १६ गते दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि एउटा सेतो बोराभित्र शंकास्पद पोको फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उक्त पोको खोल्दा एक महिलाको शव फेला परेको र अनुसन्धानका क्रममा उक्त शव दमक नगरपालिका–८ बसन्त टोल बस्ने २१ वर्षीया रोमा भनिने रमा तिवारीको भएको खुलेको थियो । मृतकका पिता नारायण तिवारीले शवको पहिचान गर्नुभएको थियो । घटनाको संवेदनशीलतालाई हेर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्राविधिक टोलीले सुक्ष्म अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले घटनास्थल वरपरको सघन निगरानी, प्राविधिक विश्लेषण र सीसीटीभी फुटेजको अध्ययनका आधारमा पण्डितको संलग्नता पुष्टि गरेको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले जेठ २१ गते राति पण्डितलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक बयानका क्रममा आरोपित पण्डितले मृतकसँग पैसाको विषयलाई लिएर विवाद भएको र सोही क्रममा झगडा हुँदा हत्या गरेको स्वीकारेका छन् ।
प्रहरीका अनुसार पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसूर र जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरिएको छ । झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनामा प्रयोग भएका महत्वपूर्ण दशी-प्रमाणहरू समेत बरामद गरेको छ । पण्डितले मृतकलाई भेटेर लैजान प्रयोग गरेको मे २ प ८२३ नम्बरको निलो होन्डा शाइन मोटरसाइकल र शव फाल्न प्रयोग गरेको BR38AM3778 नम्बरको रातो-कालो अपाचे मोटरसाइकल प्रहरीले जफत गरेको छ । यस्तै, घटनाका दिन पण्डितले लगाएका कपडाहरू, जुत्ता र उनको साथबाट ३ थान मोबाइल बरामद भएको छ भने आरोपित बस्ने घर नजिकै मृतक रोमाको एक जोर चप्पल फेला परेको छ, जसलाई मृतककी आमा मुनादेवी तिवारीले पहिचान गरिसक्नुभएको छ । घटनास्थल, लाश फेला परेको अवस्था, लासमा रहेको ट्याटु तथा बरामद गरिएका मोबाइल, आधार कार्ड र एटीएमको फोटोहरूलाई पनि प्रमाणका रूपमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो ।
















