हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल त्रिदेशीय नेशन्स कप फूटबलको फाइनल प्रवेश

 काठमाडौं । आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेशन्स कप फूटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले २ अंक बनाएर अन्तिम दुईमा स्थान बनाएको हो ।

Advertisement

बंगलादेशले भने ४ अंक बनाउँदै समूह विजेता बन्यो । बंगलादेश यसअघि नै फाइनलमा प्रवेश गरेको थियो ।घरेलु दर्शकको साथ पाएको नेपालले बंगलादेशको राष्ट्रिय टोलीविरुद्ध पनि गोल गर्न सकेन । दबाब दिएर खेले पनि बंगलादेशको पोस्टमा गोल गर्न नेपाल असफल रह्यो । पहिलो खेलमा जस्तो बंगलादेशसँगको खेलमा पनि नेपाली टोलीको मध्यक्रम चल्न सकेन ।

Advertisement

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेको थियो ।बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको उमेर समूहलाई हराउँदै फाइनल प्रवेश गरिसकेको अवस्थामा आयोजकलाई रोक्ने रणनीति सफल भयो । बंगलादेशले नेपाललाई रोक्दा दशरथ रंगशलामा ६ वर्षपछि घरेलु दर्शकमाझ गोल गर्ने मौका फेरि पनि पूरा भएन ।

घरेलु टोलीलाई बराबरीमा रोकेको भ्रमणकारी टोली बंगलादेशले ४ अंक जोड्न सफल भयो ।खेलमा बंगलादेशविरुद्ध नेपालले आक्रामक शुरुवात गरेको थियो । खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङले गरेको क्रस बलमा अञ्जन विष्ट अनमार्क रहे पनि सदुपयोग गर्न सकेनन् ।

अन्जन विष्टको फ्रि हेडर क्रसबारको केही माथिबाट बाहिरिएको थियो ।बंगलादेशले अवसर सिर्जना गर्ने क्रममा ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले क्लियर गर्दै बचाएका थिए । खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रि किक पोस्ट नजिकबाट बाहिरिँदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सजिलै नियन्त्रणमा लिन सफल भएका थिए । ६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिँदा नेपालले अग्रताको सुनौलो अवसर गुमाउन पुगेको थियो ।

बराबरी खेलेको खेलमा तीन खेलाडीले डेब्युको मौका पाए । मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले शुरुवाती–११ मै डेब्युको अवसर पाउँदा यस्तै डिफेन्डर निशान खड्काले रञ्जीत धिमालको स्थानमा ७१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।फाइनल प्रवेश गरेका टोलीद्वय नेपाल र बंगलादेशले सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)