हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

बाह्रदशीका १६ सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट, गरियो करार सम्झौता

हल्दिबारी , झापा — झापाको बाह्रदशी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको छ। गाउँपालिकाले प्रतिस्पर्धाबाट छानिएका १६ जना प्रधानाध्यापकहरूसँग करार सम्झौता गर्दै नियुक्ति पत्र प्रदान गरेको हो। बुधवार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमका बिच नवनियुक्त प्रधानाध्यापकहरूलाई सम्झौता पत्रमा हस्ताक्षर गराएर नियुक्ति पत्र हस्तान्तरण गरिएको छ।

Advertisement

​गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक नियुक्तिमा पहिलोपटक यो नौलो र पारदर्शी अभ्यास गरेको हो। गाउँ शिक्षा समितिले सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको थियो। गाउँपालिकाको ‘प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०८२’ अनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, तालिम, अनुभव र विगतमा विद्यार्थीहरूले हासिल गरेको नतिजालाई मुख्य आधार बनाएर प्रअ छनोट गरिएको गाउँपालिकाले जनाएको छ। खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने पालिकाको यो निर्णयलाई शिक्षा क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तरीय नेतृत्व विकासतर्फको एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Advertisement

​गाउँपालिकाका अनुसार कक्षा १२ सम्म पढाइ हुने तीन ठूला विद्यालयहरूमध्ये पशुपति माविमा गुणनिधि लुइँटेल, गौरीशंकर माविमा लेखनाथ कटुवाल र फूलबारी माविमा कुमार दाहाल प्रधानाध्यापक चयन भएका छन्। त्यस्तै जनविकास माविमा सुपेन राजवंशी, पञ्चमणि माविमा धनमाया देवी पौडेल र अमृत माविमा डुमेश्वर झा प्रधानाध्यापक नियुक्त भएका छन्।

​यसैगरी आधारभूत तथा अन्य विद्यालयहरूतर्फ भगवती आधारभूत विद्यालयमा घनश्याम उप्रेती, पशुपति आधारभूत विद्यालयमा सरोजा अर्याल, जनता विद्यालयमा लालबहादुर थापा, सुन्दरपुर विद्यालयमा सुपाल राजवंशी, साधुपर्ती विद्यालयमा टंकप्रसाद सापकोटा, राधानगर विद्यालयमा लोकबहादुर कार्की, घोडामारा विद्यालयमा तुलाराम निरौला, कटहरडाँगी आधारभूत विद्यालयमा शिवप्रसाद पोखरेल र रामनगर आधारभूत विद्यालयमा नरेश बरालले विद्यालय नेतृत्वको जिम्मेवारी पाएका छन्।

​नवनियुक्त प्रधानाध्यापकहरूले कार्यविधिअनुसार विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि कार्यसम्पादन सम्झौताका सर्तहरूको पालना गर्नुपर्नेछ। खुल्ला प्रतिस्पर्धाबाट आएको यो नयाँ नेतृत्वले गाउँपालिकाको समग्र शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास स्थानीय स्तरमा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)