बिर्तामोड, १० चैत। बिर्तामोड नगरपालिका वडा नं. १ मा घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।
वडाभित्र रहेका ३६ वटा टोल विकास संस्थालाई तालिका बनाएर नागरिकता, घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी विषयमा जानकारी दिइँदै आएको वडाध्यक्ष अग्निप्रसाद पाण्डे ले जानकारी दिनुभयो।
आज आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका का अधिकृत विमल पोख्रेल ले घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभयो। त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनी का प्रहरी सहायक उप-निरीक्षक प्रदीप आले मगर ले लागूपदार्थ दुर्व्यसन र साइबर अपराधबारे प्रशिक्षण दिनुभयो।
कार्यक्रममार्फत पञ्जिका सम्बन्धी नीतिगत विषय, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराधले समाजमा पार्ने प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको वडा सचिव जानुका बस्नेत ले बताउनुभयो।
आज ८ वटा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिइएको छ भने कार्यक्रम अझै केही दिनसम्म सञ्चालन हुने जनाइएको छ।


















