भद्रपुर, झापा । ​झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित नरसिङ बगान क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। हिजो मंगलबार बेलुका करिब ६:०० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ४७१५ नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्दा उक्त प्रतिबन्धित लागुऔषध फेला परेको हो।

​पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका वडा नम्बर १२ का ३९ वर्षीय सन्तोष लिम्बु, भद्रपुर नगरपालिका वडा नम्बर ११ का २४ वर्षीय ओम नारायण मण्डल र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय पूजन कुमार खनाल रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरू सवार स्कुटीलाई रोकेर खानतलासी गरेको थियो।

​चेकजाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकसहित ५ ग्राम ७० मिलिग्राम र प्लास्टिक बाहेक ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषध ओसारपसारमा प्रयोग गरिएको स्कुटीसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
9
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार