झापा, ६ जेठ । झापाको मेचीनगर नगरपालिकामा निर्माणाधीन खानेपानी ट्याङ्कीबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर ५ शान्ति टोल बस्ने ५२ वर्षीय दिननाथ पराजुली रहेका छन्।
सोमबार (हिजो) दिउँसो साढे १२ बजेको समयमा मेचीनगर–५ स्थित नयाँ निर्माणाधीन खानेपानी ट्याङ्कीको सेट्रिङको बाँस खोल्ने क्रममा पराजुली अचानक तीन तला माथिबाट भुइँमा खसेका थिए।
ट्याङ्कीबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। मृतक पराजुलीको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक मेची अस्पताल पठाइएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।AIबाट निर्मित सांकेतिक तस्बिर
















