युवा सामाजिक अभियान्ता तथा विभिन्न सामाजिक संघसंस्थाका अगुवा अभिषेक खतिवडाले भद्रपुर–जलथल–राजगढ सडक खण्ड अन्तर्गत हुलाकी राजमार्ग क्षेत्रमा देखिएको सडक तथा पुल आसपासको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

खतिवडाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरी, सुनसरीका प्रमुखलाई इमेलमार्फत पत्राचार गर्दै पुल आसपासका क्षेत्रमा हालसम्म कालोपत्रे कार्य सम्पन्न नभएको, आवश्यक स्थानहरूमा मर्मत कार्य अत्यन्त ढिलाइ भइरहेको तथा सडकको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको विषय उठान गरेका हुन्।

पत्रमा सडकको दयनीय अवस्था, पुल नजिकका अधुरा निर्माण कार्य, धुलाम्मे तथा हिलाम्मे सडकका कारण सर्वसाधारण, सवारी चालक तथा यात्रुहरूले दैनिक सास्ती व्यहोर्नुपरेको उल्लेख गरिएको छ। विशेषगरी वर्षायाममा सडक थप जोखिमपूर्ण बन्ने गरेको र दुर्घटनाको सम्भावना बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

खतिवडाले हुलाकी राजमार्ग राष्ट्रिय गौरवको आयोजना भएकाले यसको निर्माण तथा मर्मत कार्यलाई प्राथमिकताका साथ शीघ्र सम्पन्न गर्नुपर्ने बताएका छन्। साथै उनले सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गरी बाँकी कालोपत्रे, मर्मत तथा संरक्षणका कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।

उक्त विषयलाई थप गम्भीर रूपमा उठान गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, झापा क्षेत्र नं. ३ का संघीय सांसद, कोशी प्रदेशका झापा क्षेत्र नं ३ ख सांसद, सडक विभागका महानिर्देशक तथा जिल्ला प्रशासन कार्यालय झापालाई समेत बोधार्थमार्फत जानकारी गराएका छन्।

स्थानीयवासी तथा यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले शीघ्र कदम चाल्ने अपेक्षा गरिएको खतिवडाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार