नरेन्द्र क्षेत्री /नयाँ दिल्ली । दिल्लीको जन्तरमन्तरमा बितेका २० दिनदेखि एउटा फरक दृश्य देखिँदै आएको थियो। ओठ कलेँटी परेका, आँखा गहिरिएका तर दृढ इच्छाशक्ति भएका ५९ वर्षीय जलवायु अभियन्ता सोनम वाङचुक आमरण अनशनमा थिए। तर, शनिबार बिहानको मिर्मिरेसँगै जन्तरमन्तरको त्यो दृश्यावली बदलियो। २० औँ दिनमा खुट्टा पनि टेक्न नसक्ने गरी गलिसकेका वाङचुकलाई दिल्ली प्रहरीले अनशनस्थलबाट उठाएर अस्पताल पुर्याएको छ।

चिकित्सकहरूले उनको शरीरका भित्री अङ्गहरूले काम गर्न छोड्ने (अर्गान फेलियर) चेतावनी दिइरहँदा र दिल्ली उच्च अदालतले ‘नागरिकको ज्यान अमूल्य हुने’ सम्झाएपछि मात्र प्रशासन ब्युँझिएको हो।

शनिबार बिहानै जब प्रहरी टोली जन्तरमन्तर पुग्यो, त्यहाँको माहोल एकाएक तातियो। NEET परीक्षाको प्रश्नपत्र चुहावट काण्डलाई लिएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत ‘ककरोच जनता पार्टी’ (सीजेपी) का कार्यकर्ताहरूले प्रहरीको कदमको तीव्र विरोध गरे। अनशनकारीलाई जबरजस्ती उठाउन खोजिएको भन्दै नाराबाजी भएपछि केही बेर त्यहाँ तनावको स्थिति सिर्जना भएको थियो।
नयाँ दिल्लीका डेपुटी कमिश्नर अफ पुलिस (डीसीपी) ले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अदालतको आदेश र चिकित्सकको सल्लाह अनुसार नै वाङचुकको जीवन रक्षाका लागि उनलाई अस्पताल सारिएको स्पष्टीकरण दिएका छन्। प्रहरीले प्रदर्शनकारीहरूलाई तत्काल जन्तरमन्तर खाली गर्न समेत आग्रह गरेको छ।
लद्दाखको पर्यावरण बचाउने आन्दोलनदेखि चर्चामा रहेका वाङचुक यसपटक देशको शिक्षा प्रणालीमा देखिएको बेथितिका विरुद्ध अनशनमा बसेका थिए। अनशन सुरु गरेयता उनको तौल ८ किलोग्रामभन्दा बढी घटिसकेको छ। दैनिक रूपमा सार्वजनिक भइरहेका मेडिकल बुलेटिनहरूले उनको स्वास्थ्य खस्कँदै गएको र अवस्था ‘इमर्जेन्सी’ तर्फ उन्मुख भएको तस्बिर देखाएका थिए।
उच्च अदालतले केन्द्र सरकारलाई उनको स्वास्थ्यको चौबीसै घण्टा निगरानी गर्न र आवश्यक परे हस्पिटल सार्न दिएको आदेशकै जगमा यो कदम चालिएको हो। वाङचुक अहिले अस्पतालको बेडमा छन्, तर जन्तरमन्तरमा बलेको आन्दोलनको राँको अझै निभिसकेको छैन।
