हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

विश्वकप फाइनलका लागि स्लाभको विन्सिक मुख्य रेफ्री नियुक्त, सहयोगी टोलीको पनि घोषणा

एजेन्सी । फिफाले विश्वकप २०२६ को महाभिडन्त (फाइनल खेल) का लागि रेफ्रीहरूको आधिकारिक घोषणा गरेको छ। न्यूयोर्कको न्यू जर्सी स्टेडियममा साविक विजेता अर्जेन्टिना र स्पेनबिच खेलिने ऐतिहासिक फाइनल म्याचमा स्लोभेनियाका अनुभवी अधिकारी स्लाभको विन्सिकले मुख्य रेफ्रीको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएका छन्। फिफाका रेफ्री प्रमुख पियरलुइगी कोलिनाले यस नियुक्तिप्रति खुसी व्यक्त गर्दै विश्वकप फाइनल जस्तो गरिमामय र ठुलो खेलका लागि अनुभवी एवं योग्य रेफ्री आवश्यक पर्ने र विन्सिकलाई यो जिम्मेवारी मिल्नु उनको गौरवशाली करियरको ठुलो उपलब्धि भएको बताएका छन्। फाइनल खेलमा मुख्य रेफ्री विन्सिकको सहायताका लागि टोमाज क्लेञ्चनिक र एन्ड्राज कोवाचिक असिस्टेन्ट रेफ्री (लाइन्सम्यान) को भूमिकामा रहनेछन् भने अधम मखादमेह फोर्थ अफिसियल र मोहम्मद अल्कालाफ रिजर्भ असिस्टेन्ट रेफ्रीका रूपमा मैदानमा देखिनेछन्।

Advertisement

​४६ वर्षीय स्लाभको विन्सिकको खेल जीवनमा यो पहिलो विश्वकप फाइनल खेल सञ्चालन गर्ने ऐतिहासिक अवसर हो। उनले सन् २०२२ मा कतार विश्वकपबाट आफ्नो विश्वकप रेफ्री करियरको सुरुवात गरेका थिए, जहाँ उनले २ वटा खेलमा रेफ्रीको भूमिका निभाएका थिए। जारी फिफा विश्वकप २०२६ मा पनि उनी अहिलेसम्म ३ वटा म्याचमा मुख्य रेफ्री रहिसकेका छन् र यो फाइनल खेलका साथ उनको विश्वकप करियरको छैटौँ म्याच पूरा हुनेछ। विन्सिकको रेफ्री करियरमा सन् २०२४ को यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पनि सामेल छ, जसमा रियल म्याड्रिड र बोरुसिया डर्टमण्डबिच भिडन्त भएको थियो। यसबाहेक उनले यूईएफए युरोपियन च्याम्पियनसिप, विश्वकप क्वालिफायर, युरोपा लिग, नेसन्स लिग र क्लब विश्वकप जस्ता ठुला प्रतियोगिताहरूमा सफलतापूर्वक निर्णय सुनाइसकेका छन्।

Advertisement

​न्यू जर्सी स्टेडियममा आयोजना हुने यस फाइनल खेलमा ८० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ। जहाँ लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो पटक विश्वविजेता बन्ने दाउका साथ मैदानमा उत्रिनेछ भने स्पेनले सन् २०१० को उपाधि जितपछि पहिलो पटक फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। साविक विजेता अर्जेन्टिना चौथो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा ओर्लिँदा स्पेन आफ्नो दोस्रो उपाधिको खोजीमा हुनेछ। यी दुई बलिया टोलीबिच विश्वकपको इतिहासमा यसअघि सन् १९६६ मा मात्र एक पटक भिडन्त भएको थियो, जसमा अर्जेन्टिनाले स्पेनलाई २-१ ले पराजित गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)