सुनसरी, मंसिर २२ — सुनसरीको रामधुनी नगरपालिका–२ मा सिटी रिक्सा चालक ४५ वर्षका दिनेशकुमार चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न सात जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले सातै जनालाई सार्वजनिक गरेको हो।
असोज २५ गते साँझ करिब ५:२० बजे रामधुनी–२, कर्मनिया टोलस्थित भित्री सडकमार्गमा अपरिचित व्यक्तिहरूले गोली प्रहार गरेपछि चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।


पक्राउ परेकामध्ये रामधुनी–१ का ४३ वर्षका राजेश भन्ने राजकिशोर साह, ४० वर्षका नन्द किशोर साह, भोक्राहा नरसिंह–५ का ३४ वर्षका मोहमद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षका गियास मन्सुरी, देवानगन्ज–५ का २५ वर्षका मिथलेश यादव, राजविराज–१६ का २८ वर्षका अंकित साह र राजविराज–९ का २८ वर्षका प्रिन्सकुमार दास छन्।
प्रहरीका अनुसार मृतक चौधरीले “तन्त्र–मन्त्र गरी परिवारका सदस्यलाई दीर्घकालीन रूपमा बिरामी बनाइ हैरानी दिएको” आरोप लगाउँदै राजकिशोर साह र नन्द किशोर साहले योजना बनाई अन्य समूहसँग पैसा लेनदेन गरी हत्या गराएका हुन् भन्ने अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न व्यक्तिहरूलाई मंसिर १७ गते कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले म्याद थप गरी प्रहरी हिरासतमा राखेको छ। प्रहरीका अनुसार थप अनुसन्धान जारी छ।