हल्दिवारी (झापा) — हल्दिवारी गाउँपालिका वडा नं–२ मा आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री खरिद तथा वितरण कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष शुक्ला राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाभित्रका किसानहरूलाई स्प्रे ट्याङ्की र मकै रोप्ने मेसिन वितरण गरिएको हो। कार्यक्रमको सहजीकरण वडा सचिव मदन थापाले गर्नुभएको थियो।


कार्यक्रममा वडा सदस्यहरू रचना कुलुङ राई, अम्बिका तोलाङ्गी, गणेशकुमार मगर र विष्णु राईलगायतको सक्रिय सहभागिता रहेको थियो। किसानहरूलाई कृषि औजार वितरण गर्नुको औचित्यबारे वडा सदस्य अम्बिका तोलाङ्गीले प्रष्ट पार्नुभएको थियो भने स्वागत मन्तव्य वडा सदस्य विष्णु राईले व्यक्त गर्नुभएको थियो।

वडाभित्रका किसानहरूको मागका आधारमा २५ जना किसानलाई स्प्रे ट्याङ्की र २३ जना किसानलाई मकै रोप्ने मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ। सामग्रीहरू वडाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा खरिद गरी वितरण गरिएको वडा अध्यक्ष राजवंशीले जानकारी दिनुभयो।
वडा अध्यक्ष राजवंशीका अनुसार आगामी दिनमा चाप कटर, मकै छोडाउने मेसिन तथा सिँचाइ मोटरसमेत क्रमशः वितरण गर्ने योजना रहेको छ। यसका लागि वडाको सिलिङ बजेटमार्फत आवश्यक बजेट स्वीकृत गरिएको उहाँले बताउनुभयो।

यान्त्रिकीकरणमार्फत कृषि पेशालाई प्रोत्साहन गर्ने उद्देश्यले किसान हितका कार्यक्रमहरू प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो।


















