झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका–५ का एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ।

स्थानीय चारघरे जोगी बस्तीमा बस्दै आएका ८० वर्षीय भीमबहादुर बिष्टको शुक्रबार दिउँसो खोलामा डुबेर मृत्यु भएको हो। डोकोमा घाँस काटेर घर फर्कने क्रममा चिप्लिएर भूतेनी खोलामा लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

परिवारका अनुसार बिष्ट घरको उत्तरपट्टि रहेको खोलातिर घाँस काट्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि उनका छोरा खोज्न जाँदा खोलामा डुबेको अवस्थामा भेटिएपछि बाहिर निकालिएको थियो।
घटनास्थलमा अस्थायी प्रहरी चौकी कञ्चनश्रीबाट खटिएको टोलीले शव नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराइसकेको जनाएको छ।