हल्दीबारी (झापा) — हल्दीबारी जेसीजद्वारा सञ्चालित ‘स्व. आरती राजवंशी स्मृति घर निर्माण अभियान’ का लागि अन्तर्राष्ट्रिय झापाली समाजले आर्थिक सहयोग गरेको छ । समाजले उक्त मानवीय कार्यका लागि नगद ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

​विगत केही समयदेखि हल्दीबारीमा विपन्न परिवारकी स्व. आरती राजवंशीको स्मृतिमा घर निर्माणको विशेष अभियान चलिरहेको छ । सोही अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय झापाली समाजले उपलब्ध गराएको सहयोग रकम हल्दीबारी जेसीजले एक कार्यक्रमका बीच ग्रहण गरेको छ ।

​आफ्नो स्थापनाको दोस्रो कार्यकालमै हल्दीबारी जेसीजले स्थानीय स्तरमा उदाहरणीय तथा मानवीय कार्यहरूलाई प्राथमिकता दिँदै आएको छ । विभिन्न संघ–संस्था र समाजसेवीहरूसँग समन्वय गरी सुरु गरिएको यो घर निर्माण अभियानले स्थानीय समाजमा आपसी सहयोग र सहकार्यको एउटा बलियो र सुन्दर सन्देश प्रवाह गरेको जेसीज नेतृत्वले जनाएको छ ।

​सहयोगदाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले लामो समयदेखि झापा जिल्लाभर विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । समाजले जिल्लाका विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति, खेलकुदको विकास, एम्बुलेन्स सेवा सञ्चालन तथा शववाहन व्यवस्थापन लगायतका परोपकारी कार्यमा निरन्तर लगानी र सहयोग गर्दै आएको छ ।

​आफ्नो महत्त्वपूर्ण मानवीय अभियानमा जोडिएर सहयोगी हात फैलाएको भन्दै हल्दीबारी जेसीजले अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्षसहित सम्पूर्ण कार्यसमिति तथा सहयोगीहरू प्रति हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार