समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

अगरबत्ती किन नबाल्ने ?

सनातन हिन्दु, बौद्ध, किरात, जैन, शिख, बोन तथा प्रकृति पूजकजस्ता धर्मावलम्बीहरूमा पूजाआराधनाका क्रममा धूप, दीप, नैवेद्य र पुष्प अर्पण गर्ने परम्परा प्राचीन कालदेखि नै रहँदै आएको छ । तर आजभोलि व्यापक रूपमा प्रयोगमा आएको अगरबत्ती (सिन्के धूप) को उल्लेख सनातन धर्मका मूल शास्त्रहरूमा पाइँदैन ।

शास्त्रहरूमा ‘पुष्पम्, धूपम्, दीपम्, नैवेद्यम्’ भन्ने शब्द प्रयोग भए पनि अगरबत्तीको स्पष्ट वर्णन छैन । जानकारहरूका अनुसार भारतमा मुगल शासनकालपछि मात्र अगरबत्तीको प्रयोग सुरु भएको मानिन्छ । धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिले हेर्दा अगरबत्तीको प्रयोग लाभभन्दा हानिकारक बढी देखिन्छ ।
अगरबत्तीका बेफाइदा
अगरबत्ती बाल्दा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड तथा अन्य विषालु ग्यास निस्कन्छ, जसले क्यान्सरसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
अगरबत्तीबाट टारजस्तो चिप्लो पदार्थ निस्कन्छ, जसले घरभित्र प्रदूषण बढाउँछ ।

विज्ञापन (Advertisement)Advertisement

यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै नकारात्मक सोचलाई बढावा दिन सक्छ ।
अगरबत्तीको धुवाँले दम, रुघाखोकी, मुटु, फोक्सो, कलेजो तथा मस्तिष्कसम्बन्धी रोग निम्त्याउने जोखिम हुन्छ ।
श्वासप्रश्वासमा समस्या ल्याउने भएकाले बालबालिका र वृद्धवृद्धालाई अझ बढी खतरा हुन्छ ।

अधिकांश अगरबत्तीमा रासायनिक सुगन्ध र विषालु पदार्थ प्रयोग गरिन्छ । बाँसको सिन्को जलाउँदा भारी धातुजन्य विषाक्त तत्व निस्कने भएकाले देवकार्य र पितृकार्यमा प्रयोग शास्त्रीय रूपमा निषेध मानिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अगरबत्तीको धुवाँ चुरोटको धुवाँभन्दा करिब डेढ गुणा बढी हानिकारक हुन्छ ।
आर्थिक रूपमा पनि भारिलो छ । करिब ९० प्रतिशत अगरबत्ती आयात हुने भएकाले विदेशी मुद्रा बाहिरिने र वायु प्रदूषण बढ्ने समस्या छ ।
धार्मिक मान्यता
अगरबत्तीमा बाँसको सिन्को प्रयोग हुने भएकाले यसलाई शुभ कार्यमा बाल्नु उचित मानिँदैन ।
घरमा पितृदोष, देवदोष तथा सन्तानदोष लाग्ने विश्वास पनि प्रचलित छ ।
नेपाली शब्दकोशमा समेत ‘अगरबत्ती’भन्दा पहाडी जडीबुटीबाट बनेको ‘धूप’ शब्दलाई प्राथमिकता दिइएको छ ।
शास्त्रीय मान्यताअनुसार धूप पाँच तत्वभन्दा बढी मिश्रणबाट बनेको हुनुपर्छ—जस्तै पञ्चगव्य, पञ्चामृत, नैवेद्य र पञ्चतत्त्व ।
अर्गानिक (प्राकृतिक जडीबुटी) धूपको महत्व
प्राकृतिक जडीबुटीबाट हस्तनिर्मित अर्गानिक धूप बिहान बाल्नु शुभ कर्मको साक्षीका रूपमा र साँझ बाल्नु पितृस्मरणका रूपमा लिइन्छ । यस्तो धूप शास्त्रसम्मत, प्रदूषणमुक्त र सकारात्मक ऊर्जादायी हुन्छ ।
सनातन शास्त्रमा धूप, दीप, पुष्प र नैवेद्यको महत्त्व स्पष्ट रूपमा उल्लेख छ ।

यसले वायु प्रदूषण गर्दैन र सकारात्मक ऊर्जा प्रदान गर्छ ।
नेपालमा पाइने बहुमूल्य जडीबुटीको उचित पहिचान र उपयोग गर्न सके आर्थिक बचत हुन्छ ।
स्वदेशी कच्चा पदार्थको प्रयोगले रोजगारी सिर्जना, आर्थिक समृद्धि र आत्मनिर्भरता बढाउँछ ।
अर्गानिक धूप सस्तो पर्छ र निर्यात गर्न सके दिगोआम्दानीको स्रोत बन्न सक्छ ।

तितेपाती, पाती, सुनपाती, भैरमपाती, कपूर, तुलसी, धुपी, सालधूप, अष्टगन्धलगायत पाँचदेखि ३० प्रकारका सुगन्धित तथा औषधीय जडीबुटी प्रयोग गरिने भएकाले यसले कीटपतंग भगाउनुका साथै वातावरण शुद्ध राख्छ ।
घरमै बसेर किशोर–किशोरीदेखि वृद्धसम्मले सजिलै बनाउन सकिने भएकाले विशेष गरी महिला आत्मनिर्भर बन्ने अवसर सिर्जना हुन्छ ।

अनुसन्धानका क्रममा अगरबत्तीका थप हानिहरू देखिन सक्ने भए पनि अर्गानिक (प्राकृतिक) धूपका फाइदा अझै धेरै रहेको निष्कर्ष निकाल्न सकिन्छ । त्यसैले घरको पूजा कोठा, मन्दिर, शिवालय, गुम्बा, कार्यालय, पसल, ध्यान केन्द्र तथा धार्मिक अनुष्ठानहरूमा प्राकृतिक जडीबुटीबाट बनेको धूप प्रयोग गरिनु उपयुक्त हुन्छ ।

बहुमूल्य जडीबुटीको उपयोग गरौं, श्रमको सम्मान गरौं, आत्मनिर्भर बनौं र सकारात्मक ऊर्जा प्राप्त गरौं ।


– इन्द्रप्रसाद ओली
अध्यक्ष/प्रमुख प्रशिक्षक
चेतना नेपाल
राष्ट्रिय हिन्दु एकता मञ्च, नेपाल

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)