झापा,बिर्तामोड । नेपाल पुलिस क्लबले झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। बिहीबार भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो, तेस्रो र चौथो सेट आफ्नाे पक्षमा पार्दा एपिएफले दोस्रो सेट जित्यो। पुलिसले पहिलो सेट २५–२३, तेस्रो २५–१८ र चौथो २५–२१ ले जितेको थियो। दोस्रो सेटमा एपिएफले २५–२० ले जीत हात पारेको थियो।

उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता एपिएफले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा सन्तोष मान्यो।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री घोषित भइन्। उनले नगद १५ हजार र ट्रफी पाइन। पुलिसका रुपेश विष्ट ‘बेस्ट कोच’ बने, जसले १० हजार सहित ट्रफी प्राप्त गरे।
‘बेस्ट स्पाइकर’ एपिएफकी सृष्टि खड्गी, ‘बेस्ट ब्लकर’ पुलिसकी मनिषा चौधरी, ‘बेस्ट सर्भर’ एपिएफकी जोस्ना महतो, ‘बेस्ट सेटर’ पुलिसकी कमला पुन तथा ‘बेस्ट लिबेरो’ एपिएफकी जमुना रसाइली घोषित भए। सबैले नगद १० हजार र ट्रफी प्राप्त गरे।
लक्ष्मी माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको आयोजना अर्जुनधारा नगर खेलकुद विकास समितिले गरेको थियो। सहआयोजक लक्ष्मी मावि रह्यो। झापामा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो।
विजेता तथा उपविजेतालाई आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख सल्लाहकार वीरबहादुर राई, संयोजक प्रभा काम्बाङ र नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरे।

















