प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा रहेको बताएका छन् । आज(बिहीबार) स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)का उपकार्यकारी प्रमुख एलेक्सिया ल्याटोर्तुसँग भएको भेटघाटका क्रममा नेपाल एमसीसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी दिए । त्यस्तै देउवाले प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेको बताए ।

देउवाले भने ‘उनले एमसीसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौँ भनेको छु । हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो ।’
त्यस्तै प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय चल्ने र यसमा कुनै शङ्का गर्न नहुने स्पष्ट गरेका छन् । प्रधानमन्त्री देउवाको स्वागतका लागि विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण, रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विमानस्थल पुगेका थिए ।