काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मत खसाल्दै मतदान प्रक्रिया औपचारिक रूपमा आरम्भ गरेका हुन्।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान करिब डेढ घण्टा ढिलोगरी सुरु भएको हो। मतदानस्थलमा देशभरबाट आएका प्रतिनिधिहरूको लामो लाइन देखिएको छ।

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान सम्भव भएको पार्टीले जनाएको छ। मङ्गलवार साँझ मतदाता मतदान हुने अपेक्षामा लाइनमै बसेका थिए तर राति ८ बजे मतदान भोलिका लागि सारिएको जानकारी दिँदै उनीहरूलाई फर्काइएको थियो।

महाधिवेशनमा देशभरका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि मतदान गर्नेछन्। अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। दुवै उम्मेदवारले आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदानस्थल वरपर समर्थकहरूको नारा र भोट माग्ने गतिविधिले चुनावी माहौल तातेको छ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा छिट्टै सार्वजनिक गरिने पार्टीले जनाएको छ। महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार