हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एस्टन भिल्लासँग ७–२ को हार बेहोरेको लिभरपुललाई पछार्ने दाउमा अपराजित ‘एभर्टन’ !

एजेन्सी – एक साताको अन्तर्राष्ट्रिय ब्रेकपछि क्लब फुटबल सुरु हुँदा प्रिमियर लिगअन्तर्गत गुडिसन पार्कमा मर्सिसाइड डर्वीमा एभर्टन र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ ।

Advertisement

लयमा रहेको एभर्टन साविकको विजेता लिभरपुललाई पराजित गर्दै अंक तालिकामा थप पकड बनाउने लक्ष्यमा हुनेछ । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट एभर्टन पुगेका हामेस रोड्रिग्वेज र इंग्लिस डोमिनिक काल्भर्ट लेविन नै टोलीको हतियार हुनेछन् । रोड्रिग्वेजले यो सिजनको चार खेलमा ३ गोल गर्नुका साथै दुई असिस्ट पनि दिएका छन् । काल्भर्टले यो सिजन ४ खेलमा ६ गोल गरिसकेका छन् ।

Advertisement

यस्तै रिचार्लीसन, आन्द्रे गोमेज, एलान, यारी मिना, लुकास डिग्ने, माइकल किन, गिल्फी सिगुर्डसन, सिमस कोलेमन, एलेक्स इओवी र गोलरक्षक जोर्डन पिकफोर्ड एभर्टनसँग हुनेछ । प्रशिक्षक कार्लो एन्सेलोटि उत्कृष्ट सुरुवात दिएपनि यो खेल लिगको अंक तालिकासँगै सहरी प्रतिष्ठासँग पनि जोडिएको कारण केहि दबाबमा हुनेछन् ।

यता, कोरोना संक्रमणमुक्त भएर फर्किएका फरवार्ड साडियो माने र मिडफिल्डर थियागो अलकान्तराको आगमनले लिभरपुलको मनोबल बढेको छ । दुवै खेलाडीले एस्टन भिल्लासँग ७–२ को हारको खेल गुमाएका थिए । पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर घाइते हुँदा उनको स्थानमा एड्रियनले नै मौका पाउने सम्भावना छ ।

लिभरपुल अघिल्लो खेलमा भिल्लासँग भोगको लज्जास्पद हारलाई एभर्टनविरुद्धको खेलबाट बिर्साउने प्रयासमा हुनेछ । लिभरपुलसँग मानेसँगै मोहम्मद सलाह, रोबर्टो फिर्मिन्हो, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, फविन्हो, भर्जिल भान डाइक, एन्ड्रिउ रोबर्टसन, ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड र जोसेप गोमेज छन् । कोरोना संक्रमणका कारण नावी केइटा टोलीमा हुनेछैन ।

यि दुई टोलीले हालसम्म २३ खेलमा प्रतिस्पर्धा गर्दा ११ खेलमा लिभरपुल विजयी भएको छ । एक खेल मात्रै एभर्टनले जितेको छ । ११ खेल बराबरीमा सकिएको छ । २०१० को प्रिमियर लिगमा २–० ले हराएयता एभर्टनले लिभरपुललाई पराजित गर्न सकेको छैन ।

विगतमा लिभरपुल र एभर्टनको खेलमा लिभरपुल दाबेदार टोलीको रुपमा रहने गर्थ्यो । तर यसपटक डर्बी खेलमा फरक रौनक छ । स्वयं प्रशिक्षक योर्गेन क्लोपले पनि यसलाई स्वीकारेका छन् । उनले कार्लोको आगमनपछि एभर्टन फरक टोलीको रुपमा उभिने आँकलन गरेका थिए, जुन अहिले नतिजामा पनि देखिएको छ ।

चार चरणको खेलपछि अपराजित रहेको एभर्टन १२ अंक जोडेर शीर्षस्थानमा रहँदा लिभरपुल ९ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

अन्य खेल

चेल्सीविरुद्ध साउथह्याम्पटन (राति ७ः४५ बजे), म्यानचेस्टर सिटीविरुद्ध आर्सनल (राति १०ः१५ बजे), न्युक्यासलविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १२ः४५ बजे)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)