समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

गगन थापाद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफू पार्टी नेतृत्व सम्हाल्न तयार रहेको स्पष्ट पारे। उनले महाधिवेशनलाई केवल नेतृत्व परिवर्तनको प्रक्रिया मात्र नभई पार्टीलाई नयाँ दिशा र ऊर्जा दिने अवसरका रूपमा लिनुपर्ने बताए।

विज्ञापन (Advertisement)Advertisement

महामन्त्री थापाले महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यहरूको विवरण सङ्कलनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे। तल्लो तहबाट आउनुपर्ने विवरण समयमै नआउनु नियोजित अवरोध जस्तो देखिएको उनको भनाइ थियो।

“राम्रो बाटोमा पानी खन्याएर हिलो छ भन्दै हिँड्न सकिँदैन,” उनले भने, “महाधिवेशन समयमै गर्न सकिने अवस्था हुँदाहुँदै पनि ढिलासुस्तीको गन्ध आइरहेको छ।”
थापाले आगामी आम निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिए। यस विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत स्पष्ट रूपमा जानकारी गराइसकेको उनले बताए। महाधिवेशनका लागि जुनसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको उनको भनाइ थियो।

नियमित वा विशेष जुनसुकै प्रकारको महाधिवेशन भए पनि निर्वाचनअघि नै हुनुपर्ने र महाधिवेशन नगरी काँग्रेस चुनावमा जान नहुने थापाको तर्क छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)