भद्रपुर, वैशाख ७ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। भद्रपुरस्थित मेची रंगशालामा हुने यस तेस्रो दिनको खेलमा बलियो टोली पुलिसलाई आयोजकले घरेलु मैदानमा चुनौती दिन लागेको हो।
नेपाल पुलिस क्लबले आजको खेलमा आफ्ना स्टार खेलाडीहरू रेखा पौडेल, मिना देउवा, पूजा रानाका साथै अनुभवी गोलकिपर उषा नाथ र कप्तान अमृता जैसीलाई मैदानमा उतार्ने तयारी गरेको छ। अनुभवी र राष्ट्रिय टोलीका सदस्यहरूको बाहुल्यता रहेको पुलिसविरुद्ध आयोजक चन्द्रगढीले पनि रणनीतिक टोली तयार पारेको छ। आयोजकको तर्फबाट महिला लिगमा सहभागी झापा फुटबल क्लब, बागमती युथ क्लबका सदस्य र यु–२० राष्ट्रिय टिमका खेलाडीहरूले मैदान सम्हाल्नेछन् भने केही स्थानीय खेलाडीहरूले पनि पुलिसलाई दबाबमा राख्ने प्रयास गर्नेछन्।
महिला फुटबलको क्षेत्रमा नेपालकै सर्वाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभएको छ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउनेछन्। यसैगरी विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने सचिवालय प्रमुख हिमाल खरेलले बताउनुभयो। गत वैशाख ५ गतेबाट सुरु भएको यस प्रतियोगिताको फाइनल खेल आगामी वैशाख १४ गते हुनेछ।


















