अर्जुनधारा (झापा)– झापाको अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत शनिबार सम्पन्न खेलमा विराटनगरको लायन्स क्रिकेट एकाडेमीले भारत कोलकाताको क्रिकेट जोन अन्दललाई ११ रनले पराजित गरेको छ। समूह ‘बी’ को सातौं खेलमा लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको हो।

​अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लायन्स क्रिकेट एकाडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको थियो। टोलीका लागि आशिष अधिकारीले २९ रनको योगदान दिए भने करिताथा बस्नेतले २१ र रागव कार्कीले १६ रन जोडे। बलिङतर्फ क्रिकेट जोन अन्दलका अर्घदीप मण्डलले ३ र वेद कुमारले २ विकेट लिएका थिए।

​१२४ रनको मध्यम लक्ष्य पछ्याउँदै मैदान उत्रिएको क्रिकेट जोन अन्दलले १९.३ ओभरमा सबै विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो। अन्दलका लागि अर्घदीप मण्डलले २९ र वेद कुमारले १२ रन जोडे पनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। लायन्सका बलर रागव कार्कीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ३ विकेट लिएपछि अन्दलको ब्याटिङ लाइनअप ध्वस्त भएको थियो। त्यस्तै सुभाष मण्डलले २ र बिवान चापागाईंले १ विकेट लिए।

​अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा नेपाल र भारतका १० वटा यू–१३ टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार