बिर्तामोड: मोरङको बेलबारी फुटबल क्लब ‘एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारीले इलामको रेडहर्स फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफमा बेलबारीले २–० को अग्रता बनाएको थियो। टोलीका लागि २५औं मिनेटमा एमोस लिम्बूले पहिलो गोल गरे भने ४०औं मिनेटमा योना लिम्बूले दोस्रो गोल थपे।
दोस्रो हाफको सुरुवातदेखि नै रेडहर्सले आक्रामक खेल प्रस्तुत गर्दै उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। पहिलो हाफमा २–० ले पछि परेको रेडहर्सले दोस्रो हाफमा लगातार तीन गोल गर्दै खेललाई आफ्नो पक्षमा मोड्ने प्रयास गरेको थियो।
तर, ५८औं मिनेटमा गिल्सन गिरीले रातो कार्ड पाएपछि बेलबारी १० खेलाडीमा सीमित बन्न पुग्यो। त्यसपछि पनि बेलबारीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः खेलमा फर्कियो। बेलबारीका लागि ७०औं मिनेटमा विजय उराउले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने ७४औं मिनेटमा असिम कार्कीले निर्णायक गोल गरेपछि बेलबारीको जित सुनिश्चित भयो। त्यसपछि रेडहर्सले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
खेलको ‘म्यान अफ द म्याच’ बेलबारीका विजय उराउ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा तथा अर्जुनधारा–११ का वडाअध्यक्ष खगेन्द्र इङ्नामलगायतले पुरस्कार वितरण गरेका थिए।
बैशाख १२ गते हुने फाइनल खेलको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत सोमबार ब्रदरहुड फुटबल क्लब उदयपुर र जलथल फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।


















