​भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो स्थान सुरक्षित गरेको छ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। यो जितसँगै आर्मीले प्रतियोगितामा कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार पक्का गरेको छ। आर्मीले अब उपाधिका लागि भोलि हुने चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

खेलको ३२ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् भने ५६ औँ मिनेटमा जेनिफर राना मगरले टोलीको अग्रता दोब्बर बनाइन्। पुलिसका तर्फबाट ७० औँ मिनेटमा रेखा पौडेलले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकिनन्। आर्मीकी डिफेन्डर विमला विक ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। भोलि शनिबार चर्च ब्वाइज र एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ।

चन्द्रगढी युवा क्लबद्वारा आयोजित यस प्रतियोगिताको विजेताले नेपालकै सर्वाधिक महिला फुटबल पुरस्कार राशि ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार