हल्दिबारी । झापाको हल्दीबारी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्। हल्दीबारी गाउँपालिका वडा नं. ५ धनुषपोखरी छेउमा मंगलबार राति सामान्य विवाद चुलिँदा श्रीमानले धारिलो दाउ प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। स्थानीय गोकर्ण भण्डारी भनिने गणेशले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खड्कबहादुर लावतीले जानकारी दिनुभयो।
स्थानीय बासिन्दाका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि दिनदिनै झगडा हुँदै आएको थियो। मंगलबार राति ९ बजेतिर गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएका थिए र सोही क्रममा दुई पक्षबीच विवाद बढ्दै जाँदा आवेशमा आएर उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेका थिए। श्रीमतीको हत्या गरिसकेपछि आरोपी गोकर्ण आफैँ घटनास्थलबाट करिब एक किलोमिटर उत्तरतर्फ रहेको एक स्थानीयको घरमा पुगेर “मैले श्रीमतीलाई मारिदिएँ” भनी स्वीकार गरेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ स्थानीय प्रहरीको सक्रियतामा आरोपी भण्डारीलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। घटनाको जानकारी पाउनसाथ डीएसपी खड्काकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतक उर्मिलाका एक छोरी र एक छोरा नाबालक रहेका छन्। आमाको हत्या र बुबा प्रहरीको नियन्त्रणमा परेपछि ती नाबालक बालबालिकाहरू अहिले बिचल्लीमा परेका छन्। प्रहरीले यस घटनाबारे थप गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ।

















