झापा । जापानको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सोमबार साँझ इवाटे प्रान्तको प्रशान्त महासागर तटीय क्षेत्रमा उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का केन्द्रविन्दुभन्दा सयौँ किलोमिटर टाढा रहेको राजधानी टोकियोसम्म कडा रूपमा महसुस गरिएको थियो । भूकम्प लगत्तै जापान मौसम विज्ञान एजेन्सीले सुनामी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थान वा अग्लो भूभागमा जान आग्रह गरेको छ ।
जापानी सञ्चार माध्यम ‘द जापान टाइम्स’ का अनुसार कुजी पोर्टमा ८० सेन्टिमिटर र मियाको पोर्टमा ४० सेन्टिमिटरसम्मको सुनामी लहर मापन गरिएको छ । अधिकारीहरूले सुनामीको लहर बारम्बार आउन सक्ने भएकाले चेतावनी पूर्ण रूपमा नहटेसम्म समुद्री तट र नदी किनारमा नजान सचेत गराएका छन् ।
मौसम विज्ञान एजेन्सीले आगामी एक हप्तासम्म, विशेष गरी सुरुका २–३ दिनभित्र थप शक्तिशाली परकम्पहरू जान सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्क रहन अपिल गरेको छ ।


















