झापा, १८ असार । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित कलाधर बस्तीमा शुक्रबार (असार १८ गते) बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

​हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक खण्डको छेउमा रहेको जोतेको खेतको हिलोमा अनुहार गाडिएको अवस्थामा उनको शव फेला परेको हो । शवसँगै एउटा साइकल समेत फेला परेको प्रहरीले जनाएको छ ।

​बिहान करिब ५:२० बजे स्थानीयबासीले सडक छेउको खेतमा शव देखेपछि प्रहरीलाई टेलिफोनमार्फत खबर गरेका थिए । जानकारी पाउनासाथ प्रहरी चौकी हल्दिबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

​सुरुमा पहिचान हुन नसकेका ती मृतकको सनाखत भइसकेको छ । हल्दिबारी गाउँपालिका–२ मा बस्ने विवाहित छोरी योगमाया सुवेदी (भट्टराई) ले घटनास्थलमा पुगेर मृतक आफ्ना ४९ वर्षीय बुबा होम प्रसाद सुवेदी रहेको पहिचान गरेकी हुन् । मृतक सुवेदी बिर्तामोड नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।

​घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष अनुसन्धान टोलीले घटनास्थलको जाँचबुझ गरेको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टम (शव परीक्षण) का लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाएको जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार