हल्दिबारी, असार १७ – झापाको हल्दिबारी गाउँपालिकामा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
दुर्घटनामा हल्दिबारी–२ निवासी मोटरसाइकल चालक निलकण्ठ दंगाल, स्कुटीमा सवार अरुण राजवंशी तथा सुवेदी थरका अर्का एक व्यक्ति घाइते भएका हुन्। यसअघि दुई जना मात्र घाइते भएको जानकारी सार्वजनिक भए पनि पछि दुर्घटनामा परी अर्का एक जना पनि घाइते भएको पुष्टि भएको हो। तेस्रो घाइते मानबहादुर सुवेदी रहेका छ्न ।
घाइते तीनै जनाको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ। स्वास्थ्यकर्मीका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको छ।
प्रारम्भिक जानकारीअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे स्थानीय प्रहरीले थप विवरण संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ।








