नेत्र बिक्रम बिमली
फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक खेलमा डीआर कङ्गोलाई पराजित गर्दै इङ्गल्याण्ड प्रतियोगिताको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा इङ्गल्याण्डले डीआर कङ्गोमाथि २-१ गोलको कठिन जित निकाल्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको हो। खेलको सुरुवाती समयदेखि नै इङ्गल्याण्डलाई दबाबमा राखेको डीआर कङ्गोले पहिलो हाफको सातौँ मिनेटमै ब्रायन सिपेंगाको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफभरि रक्षात्मक खेल खेलेको इङ्गल्याण्ड दोस्रो हाफमा भने आक्रामक रूपमा प्रस्तुत भयो।

इङ्गल्याण्डलाई जित दिलाउने क्रममा कप्तान ह्यारी केन नायक बने। खेलको ७५औँ मिनेटमा केनले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै उनले टोलीलाई २-१ को अग्रता दिलाए। निर्धारित समयपछिको थपिएको ६ मिनेटमा डीआर कङ्गोले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन र इङ्गल्याण्ड विजयी भयो। अब इङ्गल्याण्डले अन्तिम १६ को खेलमा मेक्सिकोको सामना गर्नेछ, जसले इक्वेडरलाई हराउँदै अघिल्लो चरणको यात्रा तय गरिसकेको छ।
यसैबीच, विश्वकपका अन्य खेलहरूमा पनि रोचक नतिजाहरू आएका छन्। २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे र अर्को बलियो टोली मोरक्को पनि आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन्। अर्कोतर्फ, यसपटकको विश्वकपमा खराब प्रदर्शन गरेको नेदरल्याण्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ।








