झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस गरिएको छ।
बुधबार हल्दिबारीमा सम्पन्न राप्रपा झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङ्देनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय अध्यक्ष रविचन्द्र ओझाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक तर्फका उम्मेदवारहरूको नाम भने अझै टुंगो लाग्न बाँकी रहेको जनाएको छ।
हल्दिबारी स्थायी घर भएका लिङ्देनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। सो निर्वाचनमा लिङ्देनले ४० हजार ६६२ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३८६ मत ल्याएका थिए। त्यसअघि २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले ४४ हजार ६१४ मतसहित सिटौलालाई पराजित गरेका थिए, जहाँ सिटौलाले ३१ हजार १७१ मत पाएका थिए।
यद्यपि २०७० सालको निर्वाचनमा भने सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए। लिङ्देन २०५६ सालमा पहिलो पटक यही क्षेत्रबाट उम्मेदवार बनेका हुन्। उनले सिटौलासँग दुई पटक पराजय र दुई पटक विजय हासिल गरेका छन्। संविधानसभा पहिलो निर्वाचनमा भने दुवैलाई तत्कालीन माओवादीका उम्मेदवार पूर्णप्रसाद राजवंशीले पराजित गरेका थिए।
यसअघि नेपाली कांग्रेसले झापा–३ बाट ७ जना उम्मेदवारको नाम सिफारिस गरिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीका कार्यवाहक अध्यक्ष प्रकाश पाठकको नाम सिफारिस भएको छ। तर यसपटक नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलाको नाम सिफारिस नभएकाले उनी निर्वाचनमा नउठ्ने संकेत देखिएको छ।
यस्तै, चुनावी चर्चामा नेकपा एमालेका हरिराज राजवंशी र नेपाली कम्युनिस्ट पार्टीबाट हल्दिबारीकै मोहन टुडुको नाम पनि चर्चामा रहेको छ।
सिटौला उम्मेदवार नबन्ने सम्भावना बढ्दै गएको र अन्य दलका उम्मेदवारहरूको अवस्था हेर्दा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनाव जित्न अपेक्षाकृत सहज हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।


















