आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा बंगलादेशले जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराएको हो । ओभलमा बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो ।
नेदरल्यान्ड्सका लगि कोलिन अकेरमानले ६२ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै स्कट एड्वार्डसले १६ रन जोडे । बलिङतर्फ बंगलादेशका लागि ताकिन अहमदले सर्वाधिक चार विकेट लिए । त्यस्तै हसन महम्दले दुई विकेट लिँदा साकिब अल हसन र सौम्य सरकारले एक–एक विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
बंगलादेशका लागि अफिफ हुसेनले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै नजमुल सान्तोले २५ रन बनाउँदा मक्सोद हसनले २० रन जोडे । नेदरल्यान्ड्सका लागि पाउल भान माकरन र बस डिलेडले दुई–दुई विकेट लिए । आजको जितसँगै बंगलादेशले सुपर १२ को समूह २ मा एक खेलबाट २ अंक जोडेको छ । यता नेदरल्यान्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

















