मलेसिया । नेपाली कांग्रेसप्रति प्रतिबद्ध रहँदै विश्वभर संगठित नेपाली जनसम्पर्क समितिहरूको योगदानलाई राज्यका उच्च राजनीतिक निकायमा संस्थागत रूपमा प्रतिनिधित्व गरिनुपर्ने माग पुनः उठेको छ।
नेपाली जनसम्पर्क समिति मलेसियाका प्रवक्ता सरोज दाहालले पार्टी सभापति शेरबहादुर देउवासमक्ष औपचारिक रूपमा आग्रह गर्दै आगामी प्रतिनिधिसभा सदस्यको समानुपातिक सूची तथा राष्ट्रिय सभा निर्वाचनमा प्रवासमा सक्रिय, योग्य र कर्मठ प्रतिनिधिहरूलाई समावेश गर्न माग गरेका छन्।
उनले नेपाली जनसम्पर्क समितिहरूले विगतदेखि नै नेपाली कांग्रेसको सिद्धान्त, विचार र लोकतान्त्रिक आन्दोलनमा वैचारिक, आर्थिक र सांगठनिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उक्त योगदानलाई केवल संगठनात्मक तहमा सीमित नराखी राजनीतिक प्रतिनिधित्वमार्फत सम्मान गरिनुपर्ने बताएका छन्।
प्रवक्ता दाहालका अनुसार, “प्रवासमा रहेका नेपालीहरू नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय शक्ति हुन्। उनीहरूको प्रतिनिधित्व राज्यका निर्णय तहमा सुनिश्चित गर्नु लोकतान्त्रिक समावेशिता र पार्टीभित्रको न्यायपूर्ण अभ्यासको अपरिहार्य अङ्ग हो।”
उनले प्रवासमा रहेका नेपालीहरूको भावना, योगदान र अपेक्षालाई बेवास्ता गरिए पार्टीको सांगठनिक सुदृढीकरणमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी पनि दिएका छन्। विश्वव्यापी नेपालीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय हैसियत, लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता र समावेशी राजनीतिक संस्कृतिको स्पष्ट प्रमाण हुने उनको भनाइ छ।
नेपाली जनसम्पर्क समितिमार्फत उठाइएको यो मागलाई नेपाली कांग्रेस केन्द्रीय समितिको औपचारिक एजेन्डाका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्। पार्टी नेतृत्वबाट समयसापेक्ष, सकारात्मक र दूरदर्शी निर्णय आउने अपेक्षा गरिएको दाहालले बताए।


















