हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाली लेखक संघको अध्यक्षमा गोस्वामी 

हल्दिबारी , २९ वैशाख। नेपाली लेखक संघ झापाको पाँचौं अधिवेशन सोमबार बिर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवाकोषको सभाकक्षमा सम्पन्न भएको छ। अधिवेशनले अग्रज कवि तथा लेखक दयानन्द गोस्वामीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष बेनुप्रसाद अधिकारी र नमूना निरौला, सचिव समिरबाबु कट्टेल, सहसचिव जितेन साम्पाङ र अमृता कडरिया, कोषाध्यक्ष अमृता चौलागाईं पाठक चयन भएका छन्। सदस्यहरूमा पुण्य बराल, महेन्द्र कोइराला, जमुना खरेल र गुणनिधि लुइटेल रहेका छन्। बाँकी दुई सदस्य भने कार्यसमितिबाट पछि मनोनयन गरिने निर्वाचन समितिका संयोजक कृष्ण बरालले जानकारी दिए।
त्यसैगरी, समितिका सल्लाहकारमा केशव आचार्य, विष्णुकुमार भट्टराई, प्रकाश बुढाथोकी, कृष्ण बराल र कृष्ण धरावासी चयन भएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि, लेखक संघका केन्द्रीय सल्लाहकार धर्मेन्द्रविक्रम नेम्बाङ्गले लेखक सधैँ स्वतन्त्र र प्रगतिशील हुने उल्लेख गर्दै, महाकवि लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ जस्ता साहित्यिक धरोहरहरुले स्थापना गरेको संस्थाको सदस्य हुन पाउनु गौरवको विषय भएको बताए। साथै, उनले संघलाई अझ सिर्जनशील र सुदृढ बनाउन आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा लेखक संघ कोशी प्रदेशका प्रमुख गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव बाशु पोखरेल, सशांक प्रतिष्ठान अध्यक्ष छबिलाल खतिवडा, कवि प्रकाश बुढाथोकी, पूर्व केन्द्रीय सदस्य केशव आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए।
त्यसैगरी, केन्द्रीय संगठन विभाग सदस्य मेची पुत्र, विष्णुकुमार भट्टराई, राजेश ढुंगाना, दीपक ढकाल, विनोद खनाल, महेन्द्रविलास लुइटेल, मिलन कुमार ढुंगाना, लेखनाथ पौडेल, लिला अनमोल, ज्ञानमणि भुर्तेल लगायतको उपस्थिति रहेको थियो।
पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो कार्यकालका गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए। नवनिर्वाचित अध्यक्ष दयानन्द गोस्वामीले उमेरले जति अगाडि बढे पनि कर्तव्यप्रति सदैव युवाजोशसहित क्रियाशील रहने प्रतिवद्धता जनाउँदै, आफ्ना कार्यकाललाई झापाको लेखक संघको इतिहासमा स्मरणीय बनाउने दृढता व्यक्त गरे।
कार्यक्रमको स्वागत मन्तव्य राष्ट्रिय अधिवेशन प्रतिनिधि रश्मिशेखर सुवेदीले राखेका थिए। अध्यक्षता कुमार भट्टराईले गरेको उक्त कार्यक्रमको सञ्चालन समीरबाबु कट्टेलले गरेका थिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)