हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पाकिस्तानसँग हारेपछि धर्मको कारण निशानामा मोहम्मद शमी

आईसीसी टी–२० विश्वकपको समूह चरणको खेलमा गत २४ अक्टोबरमा पाकिस्तानसँग १० विकेटको शर्मनाक हारेपछि भारतीय क्रिकेट टोलीका बलर मोहम्मद शमीलाई अनलाइन ट्रोल गरिँदैछ । धेरै ट्रोलरहरू उनलाई धर्मको कारण निशाना बनाइरहेका छन् ।

Advertisement

शमीको आलोचना भएपछि नेता तथा पूर्व क्रिकेटरहरू उनको समर्थनमा देखिएका छन् । काँग्रेस नेता राहुल गान्धीले शमीको समर्थनमा ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘महोम्मद शमी हामी तपाईंको साथमा छौँ । यी मानिस घृणाले भरिएका छन् किनभने उनीहरूलाई कसैले माया दिएनन् । उनीहरूलाई माफ गरिदिनु होला ।’

Advertisement

कोलकाताबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द टेलिग्राफले राहुल गान्धी शमीको समर्थनमा आइरहँदा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले भने मौनता साधेको भन्दै आलोचना गरेको छ । सोमबार रातिसम्म प्रधानमन्त्रीसहित कुनै पनि केन्द्रीय मन्त्रीले शमीको समर्थनमा कुनै पनि बयान जारी गरेका छैनन् ।

पूर्व क्रिकेटर सचिन तेन्दुलकर र वीरेन्द्र सहवागले पनि शमीप्रति समर्थन जनाएका छन् । अरूले भारतमा बढ्दो साम्प्रदायिक हमला सामान्य कुरा बनेकोमा चर्चा गरेका छन् । सचिनले सोमबार शमीको समर्थनमा लेखेका छन्, ‘जब हामी टीम इन्डियाको समर्थन गर्छौँ हामी उसलाई प्रतिनिधित्व गर्ने सबैको समर्थन गर्छौँ । मोहम्मद शमी प्रतिबद्ध र विश्व स्तरीय बलर हुन् । अन्य कुनै खेलाडी जस्तै उनको त्यो दिन खराब रह्यो ।’

शमीले पाकिस्तानसँगको खेलमा ३।५ ओभर बलिङ गर्दै ४३ रन खर्चेका थिए । पूर्व क्रिकेटर हरभजन सिंहले इन्डियन एक्सप्रेससँग भने, ‘शमीविरुद्ध जस्तो प्रतिक्रिया देखिरहेका छौँ, त्यो निकै बकवास हो । शमी च्याम्पियन हुन् र हाम्रो लागि गौरव हुन् । उनले कयौँ खेल जित्न महत्त्वपूर्ण भूमिका निभाएका छन् र हामीलाई गौरवान्वित गरेका छन् ।’ शमीको अनलाइन ट्रोल गरेको विषयलाई पाकिस्तानका मिडियाले पनि प्रमुखताका साथ समाचार प्रकाशित गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)