नेपाल प्रहरीको महानिरीक्षक पदमा अहिले शैलेश थापा क्षेत्री कार्यरत छन् । अहिलेसम्म संगठनभित्र इमान्दार छवि बनाएका क्षेत्री गृहमन्त्री र प्रधानमन्त्री कार्यालयको दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । जतिसुकै तनावमा परे पनि आगामी ०७९ बैशाख १९ गते महानिरीक्षक क्षेत्रीले अवकाश पाउनेछन् । त्यसपछि पनि नयाँ प्रहरी महानिरीक्षकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै ‘सेटिङ’ कायम रहने देखिन्छ ।

नेपाल प्रहरीमा हाल ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० छन् । सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरी कम्तिमा ७ जना एआइजीहरु राखिनुपर्ने बहस चलिरहे पनि पूर्ववर्ती ओली सरकारले ५ जना मात्रै एआइजी कायम गरेको थियो । अहिले यिनै चारजना एआइजीहरु आइजीपीका दाबेदारका रुपमा मैदानमा छन् ।

हाल बहाल रहेका ५ एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, विश्वराज पोखरेल र सहकुल बहादुर थापा हुन् । यीमध्ये पाल, शाही र कार्कीले आगामी बैशाख १९ मा आइजीपी शैलेशसँगै ३० वर्षे सेवावधिका कारण अवकाश पाउँदैछन् । त्यसपछि विश्वराज पोखरेल र सहकुलबहादुर थापा मध्ये एकजनालाई आइजीपी बनाउनुपर्ने हुन्छ ।