कमला भट्टराई- झापा/ पछिल्लो समय दलित समुदाय माथी भएका विभेदको घट्नापछि मुलुकमा बाम्हणवादको विरोधको निहुँमा ब्राम्हण समुदाय माथी नै लांछना लगाउँने गरिएकाले वैदिक कर्मकाण्ड गराउने गुरु पुरोहितहरुको मान मर्दन हुने भएको भन्दै ब्राम्हण समाज नेपाल, धरान नगर समितिले विहीवार इलाका प्रशासन कार्यालय धरानमा त्यस्तो कृयाकलापप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा भनिएको छ ‘हरेक व्यक्तिले अपनाउने पेशा र कर्मको सम्मान गर्दै आयन्दा त्यस्ता निकृष्ट हर्कतहरु कतै बाट भए गरिएमा तुरन्त कारवाही गर्न समेत ब्राम्हण समाज नेपाल, धरान उपमहानगर समिति सरकार संग जोडदार माग गर्दछ ।’ समाजका अध्यक्ष उद्धवप्रसाद अधिकारीले राजनीति गर्नका लागि नेताहरुले नै ब्राम्हणवादको नाममा वैदिक कर्मकाण्ड गराउने गुरु पुरोहितहरुको मान मर्दन हुने र नकारात्मक भावना पैदा गराउने प्रयास भैरहेकोमा दुःख व्यक्त गर्दै त्यस्तो कृयाकलाप रोकिनु पर्ने बताए ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले व्टिट मार्फत सार्वजनिक रुपमा ब्राम्हण गूर पुरोहित वर्गलाई ‘टपरे’ भनेर टिप्पणी गरेपछि मुलुकमा ब्राम्हण समुदायप्रति नकरात्मक भावना पैदाहुने प्रचार भएको ब्राम्हण समाजको ठम्याई रहेको अध्यक्ष अधिकारीले बताए ।
अध्यक्ष र सचिव कमलप्रसाद भट्टराईको हस्ताक्षर भएको ज्ञापनपत्र समाजको कार्यसमिति सहितको टोलीले इलाका प्रशासनमा बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ ‘ब्राम्हण वर्गलाई अनेक प्रकारका लाञ्छना लगाउनुका साथै बेलाबेलामा विविधि तरिकाले अपहेलना र तेजोबध गर्ने गरिएको छ । यसै सन्दर्भमा केही समय पहिले हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका विभिन्न धार्मीक संस्कारहरु सम्पादन गर्ने गुरु पुरोहितहरु लाई नेपालका पूर्व प्रधानमन्त्री एवं वर्तमान जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले व्टिट मार्फत निकृष्ट शव्द प्रयोग गरी ‘टपरे’ भन्दै सम्मानित गुरु पुरोहित वर्ग लाई हेप्ने कार्य गरिएकोमा ब्राम्हण समाज नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।’
पूर्व प्रधानमन्त्रीले प्रयोग गरेका शव्दले वैदिक कर्मकाण्ड गराउने गुरु पुरोहितहरुको मान मर्दन भएको ठहर गर्दै उक्त कृयाकलाप प्रति ब्राम्हण समाज नेपालले खेद प्रकट गरेको ज्ञापनपत्रमा भनिएको छ ‘पूर्व प्रधानमन्त्री जस्तो सम्मानित व्यक्ति बाट यस्ता अमानविय र समाज विरोधी गतिविधि खुल्ला रुपमा हुँदा राष्ट्रले कानुन बमोजिम कार्वाही नगर्नु अर्को बिडम्बनाको विषय बनेको छ ।’

















