काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले मन्त्री बन्ने लक्ष्यसहित कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई चेतावनी दिएका छन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा सहभागी हुने विषयमा बाहिर जथाभावी अभिव्यक्ति नदिन सचेत गराएका हुन्। रास्वपाले प्राप्त गरेको अभूतपूर्व जनमतका कारण सरकारमा जाने सम्भावना बढेको सन्दर्भमा सांसदहरूमा मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भए पनि त्यसलाई मिडियामा प्रचारबाजीको विषय नबनाउन उनले आग्रह गरे।
लामिछानेले हालसम्म कसलाई सरकारमा पठाउने भन्नेबारे पार्टीले कुनै निर्णय नगरेको जानकारी दिए। मन्त्री छनोटको आधार व्यक्तिको क्षमता र विज्ञता हुने स्पष्ट पार्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्न आवश्यक नरहेको बताए। मिडियामा बढी देखिने वा नदेखिने दुवै प्रकारका सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उनको भनाइ थियो।
उनले भने, “तपाईंहरूमध्ये केही साथीहरू मन्त्रालय सम्हाल्ने हुनुहुन्छ। तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर वा मिडियामा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम नगर्नुहोस्। पार्टीले क्याबिनेटमा को–कोलाई पठाउने भन्ने निर्णय अहिलेसम्म गरिएको छैन। पार्टीले उचित निर्णय गर्छ, तपाईंहरूले कसैसँग भन्नु पर्दैन। हामीलाई तपाईंहरूको क्षमता र विज्ञता थाहा छ।”
यससँगै उनले चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धता पत्र अक्षर–अक्षर पढ्न निर्देशन दिँदै मन्त्री बन्ने प्रतिस्पर्धाभन्दा जनताको जीवनस्तर उकास्ने र घर–घरमा चुलो बल्ने वातावरण कसरी सिर्जना गर्ने भन्नेमा ध्यान केन्द्रित गर्न सांसदहरूलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार