वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं’ उनले भने ।मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताएका छन् । उनले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताए । विकास बजेट विनियोजनमा विगतमा असन्तुलन देखिएको भन्दै अब सन्तुलन बनाउने बताए ।

‘विगतमा कुनै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पर्दै परेन कुनै निर्वाचन क्षेत्रमा धेरै परे । बजेट विनियोजनमा सांसदहरुमा पक्षपात गर्दैनौं’ उनले भने । मुख्यमन्त्री पाण्डेले असम्भव योजनामा हात हालेर समय बर्बाद नपार्ने र सम्भव योजना पूरा गर्ने पनि बताए ।उनले समयमा बजेट खर्च गर्न क्यालेन्डर बनाएर काम गर्ने र बजेट खर्चमा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने पनि बताए । हालसम्म प्रदेश सरकार सञ्चालन ऐन नरहेको भन्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकार सञ्चालन ऐन ल्याउने पनि बताए ।