झापा । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता ग्रहण गरेका १७ जना चिकित्सकको लाइसेन्स (पञ्जीकरण) रद्द गरेको छ। काउन्सिलले एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र प्रचलित नेपाली नागरिकता कानुनको प्रावधानअनुसार ती चिकित्सकहरूको नाम पञ्जीकरण रेकर्डबाट हटाएको जानकारी दिएको हो। नेपाली नागरिकता त्यागेर अन्य देशको नागरिकता लिएपछि स्वतः लाइसेन्स खारेज हुने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्दै काउन्सिलले यो कदम चालेको हो।
लाइसेन्स रद्द हुने चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरंजनदेव पान्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजीव हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनीषा हमाल र डा. सुप्रिया शाक्य रहेका छन्। त्यसैगरी डा. इच्छा नेउपाने, डा. दीपेन ढाकल र डा. तुषार सरवजनाको पनि लाइसेन्स खारेज गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार यी चिकित्सकहरूले भारत, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र हङकङको नागरिकता प्राप्त गरेका छन्। नेपालको कानुनले दोहोरो नागरिकताको प्रावधानलाई मान्यता नदिएका कारण विदेशी नागरिकता लिएका चिकित्सकहरूले नेपालमा चिकित्सा अभ्यासका लागि काउन्सिलबाट पुनः अनुमति लिनुपर्ने हुन्छ। यो निर्णयसँगै अब यी चिकित्सकहरूले नेपालमा आधिकारिक रूपमा बिरामी जाँच्न र उपचार गर्न पाउने छैनन्। आगामी दिनमा नेपालमा सेवा गर्न चाहेमा उनीहरूले विदेशी नागरिकको हैसियतमा आवश्यक प्रक्रिया पूरा गरी काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ।


















