सिक्किम । वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार २०८२’ ले आज सम्मानित गरिएको छ। राजधानीको मनन केन्द्रमा आयोजित राष्ट्रिय प्रेस दिवस समारोहमा सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागले उनलाई पुरस्कार प्रदान गर्यो।

मुख्यमन्त्री प्रेमसिंह तामाङले पत्रकार प्रधानको तर्फबाट पुरस्कार स्वरूप अंगवस्त्र, प्रशस्तिपत्र, स्मृति चिन्ह र पाँच लाख रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। स्वास्थ्य कारण अनुपस्थित प्रधानको तर्फबाट उनका सुपुत्रले पुरस्कार ग्रहण गरे। पत्रकार प्रधानलाई पत्रकारिता र अनुवादको क्षेत्रमा आजीवन योगदानको कदर गर्दै यस सम्मानले अभिनन्दन गरिएको हो।

त्यसैगरी, वरिष्ठ पत्रकार अम्बर गुरुङलाई ‘वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०८२’ ले सम्मानित गरियो। हिमालय दर्पणका सिक्किम संवाददाता गुरुङलाई मुख्यमन्त्री तामाङले अंगवस्त्र, प्रशस्तिपत्र, स्मृति चिन्ह र दुई लाख रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। पुरस्कार ग्रहण गरेपछि गुरुङले मुख्यमन्त्री, सूचना एवं जनसम्पर्क विभाग, प्रेस क्लब अफ् सिक्किम र आफ्नो परिवारप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो खुशी व्यक्त गर्नुभयो।
समारोहमा तीन जना पत्रकारहरूलाई पनि आआफ्नो क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै ‘मुख्यमन्त्री पुरस्कार २०८२’ ले सम्मानित गरियो। यसअन्तर्गत हेम सुब्बा (मानव अधिकार), ललित दाहाल (जलवायु परिवर्तन) र भवानी थामी (महिला मुद्दामा रिपोर्टिङ) सम्मानित भए। मुख्यमन्त्रीले पुरस्कार स्वरूप उनीहरूलाई अंगवस्त्र, प्रशस्तिपत्र, स्मृति चिन्ह र पचास हजार रूपियाँको चेक हस्तान्तरण गर्नुभयो।