को हुन् हैकम??
नेकपा (माओवादी केन्द्र) को तर्फबाट हल्दीबारी-४ का वडाध्यक्ष पदका उम्मेद्वार हैकम राज घिसिङ मिलनसार, शालिन, बुद्धिजीवि र सामाजिक व्याक्तित्व हुन् । उनको जन्म वि.स. २०४८ साल भदौ २० मा हल्दीबारी-४ मै भएको हो । धनुषा आधारभुत विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका घिसिङले वि.स. २०६३ मा राजगढको ज्ञानज्योति उच्च माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् ।
त्यसपछि मेची बहुमुखी क्याम्पस भद्रपुरबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनले मेचीबाटै वातावरण विज्ञानमा स्नातक र काठमाडौंको गोल्डेनगेट इन्टरनेशनल कलेजबाट वातावरण विज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । वि.स. २०६३ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका घिसिङ, मेची बहुमुखी क्याम्पसको अखिल(क्रान्तिकारी) कक्षा कमिटी अध्यक्ष, संकाय कमिटी अध्यक्ष, इकाई कमिटी अध्यक्ष तथा जिल्ला कमिटी एक कार्याकाल कोषाध्यक्ष र एक कार्याकाल सह-सचिव बनेका थिए । वि.स. २०७३ सालमा मेची बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अखिल(क्रान्तिकारी) को तर्फबाट अध्यक्ष पदका प्रत्यासीसमेत रहेका घिसिङ अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यहुँदै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा रुपान्तरित भएका निखारिएका युवा नेतृत्व हुन् । वि.स. २०७५ मा माओवादी केन्द्र हल्दीबारी- ४ का वडा कमिटी अध्यक्ष रहेका घिसिङ, नेकपा हुँदा वडा कमिटी सचिव रहेका थिए ।
नेकपा विगठनपछि भएको नेकपा(माओवादी केन्द्र) हल्दीबारीको प्रथम अधिवेशनबाट गाउँ पार्टीको सह-सचिव भई कार्यरत रहेका छन् । वि.स. २०७० मा वातावरण संरक्षण मन्च नेपाल संस्था गठन गरी आफ्नै नेतृत्वमा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन सम्बधी सचेतनामुलक कार्यहरु गर्दै आएका छन् । उनले संस्थामार्फत् वातावरणमैत्री उत्पादनलाई प्रवर्द्धन तथा जलवायु अनुकूलनका लागि सचेतना अभिवृद्धि गर्दै आएका छन् । प्रेस क्लब हल्दीबारीका महासचिव समेत रहेका घिसिङ पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् । उनी झुल्केघाम डटकमका संचालक तथा सम्पादक भई काम गर्दै आएका थिए। घिसिङले प्लाष्टिकजन्य फोहोरबाट ऊर्जा कसरी निकाल्न सकिन्छ भन्नेबारे लामो अनुसन्धान गरी सफल परीक्षण समेत गरिसकेका छन् । वातावरण विज्ञानका अध्येता समेत रहेका घिसिङले रिफ्युज डिराइभ्ड फ्युल(आर.डि.एफ) मार्फत् विर्तामोड जस्ता तीव्र विकसित हुँदै गएको शहरहरुको फोहोर व्यवस्थापन गरी रोजगारी सिर्जना तथा आर्थिक लाभ लिन सकिने उनको अध्ययनले देखाएको छ ।
यस्ता छन् घिसिङका प्रतिवद्धताहरु:: दिगो विकास, सुशासन र समृद्विको दरिलो आधार, कृषि, पर्यटन र हरित उद्यमशिलतामार्फत् स्वरोगार lनेकपा(माओवादी केन्द्र) हल्दीबारी-४ को प्रतिबद्धता पत्र पूर्वाधार विकास:
– लाबुङ डांडादेखि बालुवा खोला ऐनाबारीहुँदै कदम चोक सम्म कालोपत्रे गरिने छ ।
– पाथिभरा पर्यटकीय विकास क्षेत्रदेखि तामाङ चोक- सुपारी बगान- चुडाल चोक हुँदै पुरानो मङगलबारे सम्म बाटो स्तरोन्नति गरिने छ ।
– पाथिभरा पर्यटकीय विकास क्षेत्रदेखि बडाबारी हुँदै मंगलबारे बजार सम्मको बाटो कालोपत्रे गरिने छ ।
– साविक जलथल र हल्दीबारीको सिमानाको बाटो देवनियादेखि भुतेनी सम्म कालोपत्रे गरिने छ ।
– शान्ति चोक धाधारपाँडा हुँदै गाउँपालिका जोड्ने बाटो कालोपत्रे गरिने छ ।
– पुरानो मंगलबारे उत्तरबाट माछापोखरी हुँदै गाउँपालिका जोड्ने बाटो स्तरोन्नति गरिने छ ।
– कालिमन्दिर चोकदेखि वन अफिस हुँदै झापारोडको युवा मार्ग सम्म कालोपत्रे गरिने छ ।
आर्थिक विकास:
– वन पैदावरमा आधारित उद्यमशिलतामा जोड दिइने छ । महिला समूह निर्माण गरी सालको पातबाट दुना, टपरी, प्लेट उद्याेग, बायो व्रिकेट उद्याेग, कम्पोष्ट मल उत्पादन गर्ने उद्याेग आदि संचालनमा ल्याइनेछ । बजार व्यस्थापन तथा उत्पादित वस्तु पालिकाभित्र अनुदानमा विक्री गरिने छ ।
– परम्परागत ज्ञान, सीप, पेशाको संरक्षण गर्न लघु उद्यमशिलता संचालन गरी रोजगारी प्रदान गरिने छ । बाँसको डोको, धुन्चे, खोंकी, परालको गुन्द्री आदिको उत्पादन तथा बजार व्यवस्थापन गरिने छ ।
– ढाकाको कपडा तथा पोसाक उत्पादन, खाडीको कपडा उत्पादनमा विशेष अनुदान तथा बजार प्रबन्ध गरिने छ ।
वातावरण :
– जैविक विविधताले भरिपूर्ण जलथल जङ्गललाई एशियाकै अध्ययन अनुसन्धान केन्द्र बनाइनेछ र वैदेशिक अनुदान भित्र्याई संरक्षित क्षेत्रको रुपमा विकास गरिने छ ।
– जलवायु अनुकुलन वडा तथा गाउँपालिका बनाउन वातावरणमैत्री उत्पादनमा जोड दिइने छ ।
– स्थानीय भू-उपयोग नीति तथा जलवायू अनुकूलन कार्यनीति निर्माण गरी यथोचित बजेट विनियोजन गरिने छ ।
– वडाभित्रको मुख्य चोक, बजारहरुमा फोहोरमैला व्यवस्थापन कार्य चुस्त दुरुस्त राखिनेछ ।
– कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्य अनिवार्य गरिनेछ भने ४० माइक्रोन भन्दा तलका प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपमा निशेष गरिनेछ ।
– विकास निर्माणका कार्यहरु संचालन गर्दा योजनाको प्रकृति अनुसार संक्षिप्त प्रभाव मूल्यांकन, प्रारम्भिक वातावरण परीक्षण तथा वातावरणीय प्रभाव मुल्यांकन अनिवार्य गरिने छ।
– गाउँपालिकाको दीर्घकालिन फोहोरमैला व्यवस्थापनको लागि एकीकृत योजना निर्माण गर्न पहल तथा अग्रसरता लिइनेछ ।
पर्यटन :
– पाथिभरा धार्मिक तथा पर्यटकिय क्षेत्रलाई सबै समुदायको आस्थाको केन्द्रको रुपमा विकास गरिनेछ । तामाङ, मगर, गुरुङ, सन्थाल, मेचे लगायतका समुदायको गुम्बा, मझिहि थान, बाठौ, ग्राम थान आदि निर्माण गरिने छ ।
– साकेला थानको गुरुयोजना बनाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ ।
– मेचे, सन्थाल, राजवंशी जातिको कला, साहित्य, नृत्य, संस्कृतिको उजागर तथा संरक्षण गर्न मुख्य गाउँ बस्तीमा होम स्टेको व्यवस्था गरी रोजगारी सिर्जना गरिनेछ ।
– वडामा सम्भाव्य पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यापर्यटनलाई समेत जोड दिइने छ ।
सामाजिक सुरक्षा तथा सांस्कृतिक विकास:
-ज्येष्ठ नागरिक, लोपोन्मुख, एकल महिला तथा अपाङ्ग भत्ता घर घरमा वितरण गरिने छ । सुविधाबाट बन्चित व्याक्तिको पहिचान गरी राज्यबाट प्राप्त सेवा सुविधा प्रदान गरिने छ ।
– लोपोन्मुख मेचे समुदायको संस्कार, संस्कृति, पहिचान झल्काउने राष्ट्रिय सङ्गग्राहलय संघीय सरकारसँग समन्वय गरी निर्माण कार्य अघि बढाइने छ।
– वडाभित्र निशुल्क एम्बुलेन्स सेवा संचालन गरिने छ ।
रोजगारी:
– एक घर एक रोजगारीको सुनिश्चितता गरिने छ । विभिन्न क्षेत्रको पहिचान गरी हरेक बेरोजगारलाई रोजगारीको अवसर प्रदान गरिनेछ । नेपाल सरकारले तोकेको न्युनतम् मासिक पारिश्रमिक बराबरको रोजगारी प्रदान गर्ने दायित्व वडा कार्यालय/ गाउँपालिका हुनेछ ।
– नवप्रवर्तन तथा लघु उद्यमशिलता गर्न इच्छुक ५ जनालाई गाउँपालिका मार्फत् जनही ५ लाख बजेट उपलब्ध गराईनेछ ।
स्वास्थ्य:
– प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क व्यवस्था गरिनेछ ।
– वडा भित्रका प्रत्येक घर परिवारलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याइने छ । विपन्न, असाहय, एकल महिला, अल्पसंख्यक, ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा तथा नविकरण लागि ५० लाखको विमा कोष निर्माण गरिनेछ ।
शिक्षा :
– बहुसंख्यक सन्थाल, मेचे, राजवंशी समुदाय लगायत विपन्न परिवारका शिक्षामा पछि परेका बाल बच्चाहरुलाई शैक्षिक विकासमा टेवा पुग्ने गरी उनीहरुकै समुदायको प्रतिनिधिबाट होम ट्युसनको व्यवस्था गरिने छ ।
– वडाबाट उच्च अंक ल्याई उत्तीर्ण छात्र छात्रालाई प्रोत्साहन तथा पुरस्कृत गरिने छ ।
– उच्च शिक्षा पढ्न चाहाने विद्यार्थीहरुलाई वडाबाट परामर्श सेवा प्रदान गरिने छ ।
– वडामा बालविकास केन्द्रको स्थापना तथा शिक्षकहरु क्षमता विकास तालिम संचालन **ग्रामीण पर्यटन, वातावरण संरक्षण लगायतको विषयमा स्थानीय पाठ्यक्रम विकास गरी अध्ययन अध्यापन गराइनेछ ।
– लोपोन्मुख जाति, समुदाय तथा आदिवासी जनजातिको मातृभाषामा अनौपचारिक शिक्षा प्रदान गरी राष्ट्रभाषा संरक्षणमा जोड दिइने छ ।
कृषि :
– वडामा संचालित कृषि सहकारी संस्थामार्फत् धान, मकै, गहुँ लगायत खाधन्न बालीको विउ, विजन सहुलियत मुल्यमा उपलब्ध गराउने साथै उत्पादन भएको धान, मकै,गहुँ किसानको मुल्यमा खरिद गर्ने व्यवस्था मिलाइनेछ ।
– अर्ग्यानिक उत्पादनलाई जोड दिई कम्पोष्ट मल तथा भर्मि मल उत्पादन केन्द्र निर्माण गरी वडाभित्र अनिवार्य खपत गर्ने नीति अवलम्बन गरिने छ ।
वडाभित्र व्यवसायिक तरकरी खेती संचालन गर्न उपयुक्त जमिन छनौट गरी ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाइनेछ ।
– व्यवसायिक अङ्गुर खेती संचालन गरी वाइन उत्पादनको कच्चा पदार्थको रुपमा विक्री गरिनेछ ।
किसानलाई आवश्यक सिंचाई मोटर, मकै छोडाउने मेशिन, च्यापाकटर, मिनी टिलर आदि अनुदानमा उपलब्ध गराइनेछ ।
अन्य:
-वडाको मुख्य चोक तथा बस्तीहरुमा नि:शुल्क वाईफाई जोन बनाइनेछ ।
-सबै बाटोमा सडक बत्ती जडान तथा विद्युत् नपुगेको घरपरिवारमा सोलार बत्ती वितरण गरी उज्यालो वडा बनाइनेछ । – विपन्न, असहाय, अपाङ्ग तथा एकल महिलाको घरमा निशुल्क हाउस वाइरिङ तथा धारा जडान गरिनेछ ।
-भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा उपलब्ध गराउने कार्य चाँडो भन्दा चाँडो गरिनेछ ।
– सीपमूलक, आयमूलक, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम संचालन गरी रोजगारीसँग जोडिने छ ।
– वडा तथा पालिकाको योजना, कार्यक्रम तथा सम्पादित कामहरुको जानकारी तथा सूचना प्रदान गर्न हरेक चोक तथा टोलहरुमा सूचना बोर्डको स्थापना गरिनेछ । वडामा क्रियाशिल सबै संघ, संस्था, सहकारीलाई इमेलमार्फत् सूचना प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।