झापा — हल्दीबारी गाउँपालिकामा कार्यरत कर्मचारी तथा युवा साहित्यकार शिवु मुर्मुलाई भारतको प्रतिष्ठित संस्था जुवान ओनोलीयाले यस वर्षको इन्टरनेशनल जुवान (युवा) अवार्डबाट सम्मानित गर्ने भएको छ। संस्थाले मंसिर २६ (११ डिसेम्बर २०२५) मा जारी गरेको प्रेस विज्ञप्तिमा मुर्मुलाई अवार्डका लागि चयन गरिएको जानकारी दिएको हो।

बाह्रदशी–०२ राजगढ निवासी मुर्मु पछिल्लो एक दशकदेखि सन्थाली मातृभाषा र नेपाली भाषामा कविता, निबन्ध, सांस्कृतिक तथा साहित्यिक लेखनमा सक्रिय छन्। उनी सन्थाली भाषाको ओल चिकी लिपि–नेपाली अनुवाद गर्ने पहिलो औपचारिक अनुवादकका रूपमा चिनिन्छन्।

वि.सं. २०७९ देखि मुर्मु नेपालकै पहिलो ओल चिकी लिपिमा प्रकाशित चौमासिक साहित्यिक–सांस्कृतिक पत्रिका ‘पँड बुरु’ का संस्थापक तथा सम्पादक रहेका छन्। त्यस्तै उनी सन्थाली विकिपिडियाका सक्रिय सम्पादक पनि हुन्।

ओडिशामा वार्षिक सम्मेलन

जुवान ओनोलीयाको वार्षिक सम्मेलन आगामी डिसेम्बर २७ र २८ मा ओडिशाको बारिपदामा आयोजना हुँदैछ। स्थानीय समुदायको आयोजनामा हुने सो सम्मेलनमा झारखण्ड, पश्चिम बंगाल, ओडिशा लगायत पूर्वी भारतका लेखक, शोधकर्ता तथा युवा साहित्यप्रेमीहरूको सहभागिता रहनेछ।

जुवान ओनोलीयाका संयोजक शिवलाल मुर्मूका अनुसार सम्मेलनको उद्देश्य आदिवासी भाषा, संस्कृति र साहित्यलाई परिचर्चा, कार्यशाला तथा साहित्यिक कार्यक्रममार्फत अघि बढाउने हो। यस वर्ष सन्थाली भाषा–साहित्यमा योगदान पुर्‍याउने सात व्यक्तित्वलाई सम्मानित गरिने बताइएको छ।

सम्मानित हुने सात व्यक्तित्व

इन्टरनेशनल जुवान अवार्ड : शिवु मुर्मु, नेपाल

जुवान ओनोलीया अवार्ड : मालती हेम्ब

लाइफटाइम एचिभमेन्ट जुवान अवार्ड : चुंडा सोरेन, सिमडेगा

वुमेन लेखक जुवान अवार्ड : सुचित्रा हांसदा

ट्रान्सजेन्डर जुवान अवार्ड : शिवानी किस्कु, फुलोलिया

यंग मेम्बर जुवान ओनोलीया अवार्ड : आरसल दुदु, जमशेदपुर

हाइ वर्किङ मेम्बर जुवान ओनोलीया अवार्ड : हाजाम बारिक, बारिपदा

सन्थाली भाषा र साहित्यको उन्नति तथा संरक्षणमा सक्रिय योगदान पुर्‍याउने यी सातै व्यक्तित्वलाई सम्मेलनमा विशेष सम्मान प्रदान गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
5
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार